लुम्बिनी पर्यटन महोत्सव :
लुम्बिनी पर्यटन महोत्सवलाई सफल बनाउने राजनैतिक दलहरुको प्रतिवद्धता

Ujyalosandeshonline 11020+ समाचार ( )
१७ मंगशिर २०८१, सोमबार

भैरहवा । मंसिर २० गते देखि पुसको १ गते सम्म सञ्चालन हुने नवौं लुम्बिनी राष्ट्रिय महोत्सवलाई सफल बनाउने राजनैतिक दलका प्रतिनिधिहरुले प्रतिवद्धता जनाएका छन् । 

सोमबार महोत्सवको सचिवालयमा आयोजित विशिष्ट सल्लाहकार समिति एवम राजनैतिक दलसंगको बैठक कार्यक्रममा रहेका राजनैतिक दलका प्रतिनिधिहरुले भैरहवा मेला सफल बनाउने बताएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीका नगर सभापति परशुराम पराजुलीले यस्तो बिषम परिस्थितिमा पनि मेलाको आयोजना गरेकोमा सिद्धार्थ उद्यौग बाणिज्यको प्रंशसा गरे । उनले भने “आर्थिक मन्दिले अहिले देश नै अक्रान्त छ, यसको बावजुद अहिलेको महोत्सवमा उत्साहजनक स्टल बुकिङ्ग भएको सुन्दा खुशी लागेको छ ।”

उनले यो समग्र नगरको कार्यक्रम रहेको हुदा यसको सफलता असफलता सम्पूर्ण नगरवासीसंग जोडिने बताउदै महोत्सवलाई सफल बनाउन रास्वपाको तर्फबाट सबै प्रकारको सहयोग रहने बताए । 

कार्यक्रममा सहभागी राष्ट्रिय जनमोर्चा पार्टीका लुम्बिनी प्रदेश उपाध्यक्ष बद्रे आलमले महोत्सवमा हुने सांंस्कृतिक कार्यक्रममा विविधता दिन आग्रह गरे । उनले स्थानिय दर्शकलाई लक्षित गरि कलाकारहरु बोलाउनु पर्ने धारणा राखे । आलमले पनि महोत्सवको सफलता सम्पूर्ण नगरकै सफलता संग जोडिएको जिकिर गरे । 

सिद्धार्थनगर नगर पालिकाका प्रमुख ईस्तियाक अहमद खाँनले महोत्सवले किसान, उद्योगी व्यपारी सहित आम जनताको पनि मनोबल बढाउने बताए । उनले नगर मात्र नभई समग्र जिल्लाकै किसान तथा उद्योगी एवम व्यवसायी यो महोत्सवबाट लाभान्वित हुन सक्ने बताए । यस्तो आर्थिक मन्दिमा पनि यति भब्य कार्यक्रम आँट्नु चानचुने कुरा नभएको बताउदै उनले आयोजकलाई धन्यवाद दिए । “महोत्सव भनेको मात्र खरिद बिक्री हैन, यहाबाट बिभिन्न प्रकारका सीप, ज्ञान सिक्न सकिन्छ ।” नगर प्रमुख खाँनले भने “मेला सफल बनाउन सम्पूर्ण नगरवासीलाई यसलाई सहयोग गर्न अपील गर्दछु ।”

जिल्ला अध्यक्षहरु अनुपस्थित, भैरहवालाई हेपेको गुनासो 

यसै बिच मेला आयोजक मूल समितिका संयोजक समेत रहेका सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले राजनैतिक दलका जिल्ला स्तरिय नेताले भैरहवालाइ हेपेको गुनासो गरे । “बुटवलमा यस्तै मेलामा यस्तै प्रकारको भेलामा सबै जिल्ला अध्यक्षहरु उपस्थित हुनुहुन्छ, हामीले समय लिएरै बोलाए पनि एक जना पनि जिल्ला अध्यक्ष आउनुभएन ।” उनले भने “राजनैतिक दलका जिल्ला स्तरिय नेताहरुको भैरहवालाई हेर्ने दृष्टि परिवर्तन गर्न आग्रह छ ।”

श्रेष्ठले भैरहवामा “भैरहवा मण्डप” को आवश्यकता औल्याउदै यसको निर्माणको लागि सबै राजनैतिक दल एक भएर निर्णय गर्न आग्रह गरे । “हामीलाई मेला महोत्सव गर्न मात्र हैन, राजनैतिक दलका ठूला नेताहरु आउदा पनि कार्यक्रम गर्ने स्थल छैन, कति सम्म अरुको दैलोको अगाडी कार्यक्रम गर्नुहुन्छ ।” उनले भने “यसैले भैरहवा मण्डपको लागि सबै एक भएर निर्णय गर्न आवश्यक छ ।”



प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार