भैरहवा । सिद्धार्थनगर नगरपालिकाको आयोजनामा भैरहवामा सम्पन्न नगरस्तरीय मेयर कप क्रिकेट प्रतियोगिताको उपाधि वडा नम्बर ३ ले उचाल्न सफल भएको छ । आइतबार सम्पन्न भएको फाइनल खेलमा वडा नम्बर एक माथी ६ विकेटको जित निकाल्दै वडा नम्बर तीनले उपाधी उचाल्न सफल भएको हो ।
आइतबार नै भएको सेमिफाइनल खेलमा वडा नम्बर १ ले वडा नम्बर २ दुईलाई ७ विकेटले पराजित गर्दै र वडा नम्बर ३ ले वडा नम्बर ६ लाई ५ विकेटले पराजित गर्दै फाइनलमा पुगेका थिए ।फाइनल खेलमा पुगेर जित हात पारेको वडा नम्बर ३ ले ५१ हजार रुपैयाँ नगदसहित मेयर कप, मेडल र प्रमाणपत्र र उपविजेता बनेको वडा नम्बर १ ले २५ हजार ५ सय रुपैयाँ नगदसहित, कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
भैरहवा स्थित सिद्धार्थ रंगशालामा बैशाख १३ गते देखि सुरु भई १६ गते भएको फाइनल खेलमा वडा नम्बर ३ ले टस जितेर ब्याटिङ निम्तो दिएर वडा नम्बर १ लाई ११.२ ओभर अल आउट गर्दै ११२ रनमा समेट्न सफल भयो । वडा नम्बर १ का लागि २१ बलमा ४ छक्का र दुई चौकाको मद्दतले ४२ रन, मनिष थापाले २२ रन, कन्हैया यादवले नट आउट १७ रन, मोहम्मद नसिम खानले ११ रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो रन बटुल्न सकेनन् । बलिङमा वडा नम्बर ३ का समिर मुसलमानले तीन, अर्जुज चौहान र अरमान मुसलमानले समान २–२, रमेश कुर्मी र मैनिउद्दिन शेषले समान १–१ विकेट लिए ।
लक्ष्यलाई पछ्याउँदै वडा नम्बर ३ ले निर्धारति १२ ओभरअघि नै ४ विकेटको क्षतिमा ११३ रन बनाउँदै लक्ष्य पुरा गर्दै मेयरको कपको उपाधी उचाल्न सफल भयो । उसको जितका लागि विजय सुनारले ४१, नट आउट आनन्द गौडले ३४ रन र मैनिउद्दिन शेषले १९ रनको योगदान दिए । बलिङमा वडा नम्बर १ का आजाद खान, सोहेल खान, सोनु धवल र गौतम बारीले समान १–१ विकेट लिए । खेलमा वडा नम्बर ३ का समिर मुसलमान म्यान अफ द म्याच घोषित भए । उनले एक हजार रुपैयाँ प्राप्त गरे ।
प्रतियोगितामा वडा नम्बर ६ का प्रवेश आलम म्यान अफ द सिरिज भई ५ हजारनगद सहित ट्रफी र प्रमाण पत्र पाए । वडा नम्बरका ३ का आनन्द गुरुङ उत्कृष्ट ब्याटर हुँदा वडा नम्बर ११ का जुबेर आलम उत्कृष्ट बलर बने । दुवैजनाले जनही दुई हजार दुई सय पचास रुपैयाँका दरले नगदसहित ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।
विजेता र उपविजेताका साथै अन्य खेलाडीहरुलाई सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख इश्तियाक अहमद खान, उपप्रमुख उमा अधिकारी, वडाअध्यक्षहरुले पुरस्कार प्रदान गरेका थिए ।