मर्चवार । रुपन्देहीको कोटहीमाई गाउँपालिका वडा नम्बर १ स्थित दुईमोहानमा 'स्वास्थ्यका लागि खेल, राष्ट्रका लागि खेल' भन्ने मूल नारासहित प्रथम वडाध्यक्ष कप क्रिकेट प्रतियोगिताको औपचारिक शुभारम्भ गरिएको छ । युवाहरूको शारीरिक तन्दुरुस्ती, अनुशासन र सामाजिक एकता अभिवृद्धि गर्ने उद्देश्यले बुधबार सुरु भएको यस प्रतियोगितामा वडाभित्रका १४ वटा टोलीले सहभागिता जनाएका छन् भने खेलहरू १२ ओभरमा खेलाइने वडाध्यक्ष राजेश गुप्ताले जानकारी दिनुभयो ।
प्रतियोगिताको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष बालकृष्ण त्रिपाठीले मानव जीवनमा खेलकुद र पोषणको महत्त्वबारे चर्चा गर्दै बदलिँदो समयसँगै क्रिकेट युवाहरूमाझ लोकप्रिय बनेको बताउनुभयो । प्रतियोगितामा प्रथम हुने टोलीलाई ३५ हजार र द्वितीय हुनेलाई २२ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ भने प्रत्येक खेलका ‘म्यान अफ द म्याच’ ले ५ सय रुपैयाँ पाउनेछन् । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अजय मिश्र लगायत अन्य वक्ताहरूले खेलकुदमार्फत मर्चवार क्षेत्रको प्रतिभा उजागर गर्दै ठाउँको पहिचान स्थापित गर्नुपर्नेमा जोड दिनुभएको थियो ।