भैरहवा । राज्यले कला र संस्कृतिको संरक्षणमा अपेक्षित ध्यान पुर्याउन नसकेको अवस्थामा निजी विद्यालयहरूले लोक संस्कृति, संगीत र नृत्यको जगेर्ना गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको सरोकारवालाहरूले बताएका छन् । सिद्धार्थ इन्ट्रिग्रेटेड स्कूल एसोसिएसन (सिसा) रुपन्देहीले भैरहवामा आयोजना गरेको अन्तर विद्यालय नृत्य प्रतियोगिताका वक्ताहरूले शैक्षिक ज्ञानसँगै अतिरिक्त क्रियाकलापको महत्वमाथि जोड दिएका हुन् ।
कार्यक्रममा प्रमुख अतिथि सिद्धार्थनगर नगरपालिकाका शिक्षा शाखा प्रमुख कृष्णप्रसाद पोख्रेलले विद्यार्थीको सर्वाङ्गीण विकासका लागि किताबी ज्ञान मात्र पर्याप्त नहुने भन्दै विद्यालयले जीवनोपयोगी सीप र संस्कार सिकाउनुपर्ने बताउनुभयो । यस्तै, सिसाका सल्लाहकार अमित यादवले यस्ता प्रतियोगिताले विद्यार्थीमा आत्मविश्वास र सिर्जनशीलता बढाउने बताउँदै निजी विद्यालयहरूले संस्कृतिको संवर्द्धनमा टेवा पुर्याइरहेको धारणा राख्नुभयो । सिसाका अध्यक्ष एल.बी. रौतारले विद्यालयहरूबीच आपसी सहकार्य र विद्यार्थीको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउँदै आगामी दिनमा खेलकुदका कार्यक्रम पनि ल्याइने प्रतिबद्धता जनाउनुभयो ।
प्रतियोगिताको नतिजा अनुसार सिनियर र जुनियर दुवै विधामा ब्राइट स्टार इङ्लिस बोर्डिङ स्कुल सिद्धार्थनगर–१ प्रथम हुन सफल भएको छ । सिनियरतर्फ मोडर्न पब्लिक स्कुल द्वितीय, युनिक पब्लिक बोर्डिङ स्कुल तृतीय र सिद्धार्थ एकेडेमीले चौथो स्थान हासिल गरे । त्यसैगरी जुनियरतर्फ सिद्धार्थ एकेडेमी द्वितीय, मोडर्न पब्लिक स्कुल तृतीय र युनिक पब्लिक बोर्डिङ स्कुलले सान्त्वना स्थान प्राप्त गरेका छन् ।
कार्यक्रममा पत्रकारितामार्फत समाजमा योगदान पुर्याएको भन्दै रुपन्देही खबरका प्रबन्धक तथा कार्यकारी सम्पादक उर्मिला यादव यात्री र अनामिका जब लिंकका प्रबन्धक अनामिका यादवलाई सम्मान गरिएको थियो । विजयी विद्यार्थीहरूलाई शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको उक्त कार्यक्रममा विभिन्न विद्यालयका प्राचार्य, शिक्षक तथा अभिभावकहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।