पोखरा । जिल्ला प्रहरी कार्यालय, कास्कीले प्रहरी निरीक्षक राजकुमार कार्कीलाई २०८२ साल असार महिनाको 'उत्कृष्ट प्रहरी' (Best Police of the Month) घोषित गरेको छ । जिल्ला प्रहरी कार्यालयमा कार्यरत कार्कीलाई असार महिनाभरि विभिन्न आपराधिक गतिविधि नियन्त्रण तथा अनुसन्धानमा पुर्याएको महत्त्वपूर्ण योगदानको कदर गर्दै सम्मान गरिएको हो ।
प्रहरी निरीक्षक कार्कीले असार महिनामा लागूऔषध कारोबारमा संलग्न ४ जनालाई पक्राउ गरेका थिए । त्यसैगरी, अवैध रूपमा ल्याइएको करिब १ करोड ३० लाख बराबरको सुन र हिराका गरगहना सहित २ जनालाई पक्राउ गर्न उनी सफल भएका थिए ।
यसका साथै, एक विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई कालोमोसो दल्ने कार्यमा संलग्न ३ जनालाई पनि उनले पक्राउ गरेका थिए । कार्कीले जिल्लाका विभिन्न स्थानमा जुवातास खेल्ने २२ जनालाई ४ लाख ८६ हजार ४७५ रुपैयाँ नगदसहित पक्राउ गरी कारबाहीको दायरामा ल्याएका थिए ।