भैरहवा । सरकारले दादुरा रुबेला रोगलाई सन २०२६ सम्म निवारण गर्ने लक्ष्य सहित दादुरा रुबेला खोप अभियान सञ्चालन गर्ने भएको छ । रुपन्देही जिल्लामा २ चरणमा दादुरा रुबेलाको खोप अभियान सञ्चालन हुदैछ । अभियान अन्र्तगत जिल्लामा ३ लाख १४ हजार ७ सय ३८ जना बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको छ ।
दादुरा रुबेलाको जोखिममा रुपन्देही पनि रहेको कारण यहा शत प्रतिशत खोप लगाउने लक्ष्य रहेको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख गौरव ढकालले बताए । “रुपन्देहीमै दादुरा संक्रमित नदेखिए पनि छिमेकी जिल्ला कपिलवस्तुमा २३ जनामा संक्रमण देखिएको थियो ।” उनले भने “यसले हामीलाई पनि सतर्क हुनुपर्ने अवश्था आएको छ ।”
ढकालले रुपन्देही जिल्लामा पहिलो चरणमा फागुन १३ गते देखि १७ गते सम्म र दोश्रो चरणमा फागुन २० गते देखि २४ गते सम्म सञ्चालन गरिने उनले जानकारी दिए । खोपलाई जोगाउन समस्या रहेको कारण रुपन्देहीमा २ चरणमा अभियान सञ्चालन गर्नुपरेको उनले जिकिर गरे ।
९ महिना देखि १५ बर्ष उमेरका बालबालिकालाई उनिहरु अध्ययनरत् बिद्यालयमा खोप केन्द्र स्थापना गरि खोप लगाईदै छ । नियमित खोपमा दादुरा रुबेलाको प्रगति सबै स्थानिय तहमा एकरुपता नरहेको तथा गत बर्षहरुको दादुराको महामारी देखा परेको कारण सरकारले खोप अभियान सञ्चालन गर्दैछ । २०७९ मंसिर ३ गते देखि गत पुस मसान्त सम्ममा लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ११ जना, बाँकेमा ३२९ जना, बर्दियामा ७२ जना, दाङ्गमा ३९ जना र कपिलवस्तुमा २३ जनामा दादुरा प्रकोप देखिएको थियो ।
अभियान अन्र्तगत लक्षित उमेरका बालबालिकाहरुलाई दादुरा रुबेला खोप लगाएर उक्त रोग बिरुद्ध प्रतिरोधात्मक क्षमता अभिवृद्धि गरि रोग संक्रमण हुन सक्ने सम्भावनालाई न्यूनिकरण गर्ने लक्ष्य रहेको छ । यस्तै सोही अवधिमा ५ बर्ष मूनिका बालबालिकाहरुको नियमित खोपको अवश्था पहिचान गरेर छुट नियमित खोपको मात्रा लगाउन सहजीकरण समेत गरिने स्वास्थ्य कार्यालय प्रमुख ढकालले बताए ।
तराईका २४ जिल्लामा ९ महिना देखि १५ बर्ष सम्मका बालबालिका र पहाडका ५१ जिल्लामा ९ महिना देखि ५ बर्ष मूनिका बालबालिकालाई खोप दिने गरि अभियान सञ्चालन हुदै छ । भारतीय सीमासँग जोडिएर रहेको र यहा बालबालिकाहरु छुटेको सम्भावनालाई हेर्दै १५ बर्ष उमेर तोकिएको ढकाललको भनाई छ । उमेर हद १५ बर्ष तोकिए पनि विद्यालयमा अध्ययनरत् १० कक्षा सम्मका सम्पूर्ण बिद्यार्थीलाई खोप लगाईने उनले जानकारी दिए । “यस अघि दादुरा रुबेलाको खोप लिएका बालबालिकालाई पनि अभियान अन्र्तगत अनिवार्य खोप दिइनेछ,” उनले भने “अभियान अन्र्तगत खोप लगाएका र नियमित खोपमा पनि परेकालाई नियमित खोपको समयमा पनि पुनः खोप दिईनेछ ।”
अभियान सफलतापूर्वक सम्पन्न गर्न रुपन्देहीमा कामलाई तिव्रता दिईएको छ । वडा खोप समन्वय समिति, पालिका खोप समन्वय समिति लगायतलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको ढकालले बताए । रुपन्देहीमा १ हजार १ सय खोप केन्द्र स्थापना गरि २ हजार २ सय स्वास्थ्यकर्मि र ३ हजार ३ सय स्वयमसेवक परिचालन गरिने उनले बताए । लक्षित बालबालिकाको संख्या बढी रहेको खोप केन्द्रमा भने पालिकाहरुको सहयोगमा जनशक्ति बढाउने निर्णय भएको छ । जिल्लामा ३४ हजार ९ सय ३६ भायल भ्याक्सिन र ३ लाख ९१ हजार ५ सय ४ वटा सिरिन्ज प्रयोगमा ल्याइने ढकालको भनाई छ ।
रुपन्देहीको बुटवल उप–महानगरपालिका, देवदह नगरपालिका, तिलोत्तमा नगरपालिका, लुम्बिनी साँस्कृतिक नगरपालिका, सिद्धार्थनगर नगर नगर पालिका, ओमसतिया गाउँपालिका, रोहिणी गाउँपालिका, सियारी गाउँपालिका र शुद्धोधन गाउँपालिकामा पहिलो चरणमा खोप लगाईने छ । गैडहवा गाउँपालिका, कञ्चन गाउँपालिका, सैनामैना नगरपालिका, मायादेवी गाउँपालिका, कोटहीमाई गाउँपालिका, सम्मरीमाई गाउँपालिका र मर्चवारी गाउँपालिकामा दोश्रो चरणमा खोप दिईदैछ ।
१ जना दादुरा रुबेलाको संक्रमितले १८ जना सम्म लाई संक्रमण सार्न सक्ने र यसबाट ज्यान समेत जान सक्ने भएकोले यसबाट सचेत भई आफ्ना बालबालिकालाई अभियानमा संलग्न गराउन स्वास्थ्य कार्यालयले अपिल गरेको छ ।