भैरहवा । घरेलु मैदानमा दर्शकको राम्रो साथ पाउदा पनि जारी प्रधानमन्त्री कपमा लुम्बिनी प्रदेशले अपेक्षित नतिजा निकाल्न सकेको छैन । घरेलु दर्शकलाई निराश गर्दै प्रतियोगितामा लुम्बिनीले लगातार तेश्रो पराजय ब्यहोर्नु परेको छ ।
बुधबार भैरहवामा भएको खेलमा लुम्बिनी प्रदेश त्रिभुवन आर्मी क्लब संग ६५ रनले पराजित भएको छ । बिहानै देखि बाक्लो कुहिरो लागेको भैरहवाको सिद्धार्थ क्रिकेट रंगशालामा निर्धारित समयमा खेल हुन सकेन् । मौषममा केही सुधार भए पछि २६ ओभर निर्धारण गर्दै खेल सुरु भएको थियो । टस जितेर लुम्बिनी प्रदेशले पहिले फिल्डिङ्गको निर्णय ग¥यो । आर्मीका ओपनर ब्याटर ईमरान शेख आक्रमक शैलीमा प्रस्तुत हुदै अविजित अर्धशतकिय पारी खेले पछि भैरहवाको कम रन बन्ने मैदानमा आर्मीले लुम्बिनीलाई १७१ रनको लक्ष्य दियो ।
शेखले ७० बलको सामना गर्दै १ छक्का र ७ चौकाको मद्दतमा अविजित ६७ रन बनाए । आर्मीका कप्तान बिनोद भण्डारीले १ छक्का र ४ चौकाको सहायतामा ३४ रन बनाउदा भीम सार्कीले २४ रनको ब्यक्तिगत योगदान गरे । आर्मीले निर्धारित २६ ओभरमा ७ विकेटको क्षतिमा १४० रनको योगफल बनाएको थियो ।
बलिङ्गमा लुम्बिनीका मोहम्मद हुसेन र नर सार्कीले समान २÷२ विकेट लिए ।
राष्ट्रिय टोलीका खेलाडीहरुले भरिभराउ त्रिभुवन आर्मीका अगाडी लुम्बिनी प्रदेशका खेलाडीहरु निरिह देखिएका थिए । पहिलो ओभरदेखि नै आर्मीले लुम्बिनीका खेलाडीहरुलाई खुलेर खेल्ने मौका दिएन । पहिलो र दोश्रो ओभरमै सोमपाल कामी र साहब आलमले आर्मीलाई विकेट दिलाए । सोमपालको पहिलो ओभरको तेश्रो बलमा लुम्बिनीका कप्तान शुसान्त थापा शुन्य रनमा आउट हुदै पेभेलियन फर्किनुप¥यो । लगत्तै दोश्रो ओभरको दोश्रो बलमा प्रज्वल थापालाई पनि लुम्बिनीले शून्य रनमै गुमायो । लुम्बिनीका लागि कृष्ण कार्कीले केही सम्हालिएर खेल्ने प्रयास गरे पनि त्यो टिमका लागि प्रयाप्त हुन सकेन । नतिजा लुम्बिनी निर्धारित २६ ओभरमा ८ विकेटको क्षतिमा १०५ रन मात्र बनाउन सक्यो । उसका लागि कृष्ण कार्कीले सर्वाधिक ३५ रन बनाए । यस्तै मृणाल गुरुङले १८ रन र मोहम्मद हुसेनले १५ रन बनाए ।
लुम्बिनी प्रदेशलाई हराउन आर्मीका लागि खेल्ने रुपन्देहीका बलरहरुको प्रदर्शन अब्बल रह्यो । आर्मीका कुशल मल्लले ६ ओभर फाल्दै २ मेडेन सहित मात्र ११ रन खर्चिएर लुम्बिनीको ४ विकेट लिए । सोमपाल कामीले २ विकेट तथा साहब आलम र अविनाश कर्णले समान १÷१ विकेट लिएका थिए । ६७ रन बनाएका आर्मीका ईमरान शेख प्लेयर अफ द म्याच घोषित भए ।
४ मध्ये ३ खेल हारेको लुम्बिनी प्रदेश २ अंक सहित खेलतालिकामा ९ औं स्थानमा पुगेका छ भने ५ खेलमा ३ जित र २ हार सहित त्रिभुवन आर्मी क्लब तेश्रो स्थानमा उक्लिएको छ । ५ मध्ये कुनै पनि खेल नजितेको कोशी प्रदेश भने अंकतालिकाको पुछारमा रहेको छ ।
बिहिबार भैरहवाको सिद्धार्थ रंगशालामा प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको अन्तिम खेल हुदैछ । अन्तिम खेलमा बिभागीय टिम शसस्त्र प्रहरी क्लब र लुम्बिनी प्रदेश भिड्दैछन् । नेपाल क्रिकेट संघले पहिलो पटक काठमाण्डौं बाहिर भैरहवामा प्रधानमन्त्री कप अन्र्तगत लिग चरणको ११ वटा खेल गराएको हो ।