भैेरहवा । रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नं. ६ मा "गुणस्तरीय शिक्षा, सिकाई अभिवृद्धिको लागि" भन्ने नाराका साथ वडा स्तरीय शिक्षा सुधार समितिले एक महत्वपूर्ण कार्यक्रम सम्पन्न गरेको छ । शैक्षिक सत्र २०८१ मा सञ्चालित "पढ्न नसक्नेलाई पढ्न सक्ने बनाउने अभियान" को समिक्षा, सम्मान तथा अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा उक्त अभियानलाई शैक्षिक सत्र २०८२ मा पनि निरन्तरता दिने घोषणा गरिएको छ ।
वडास्तरीय शिक्षा सुधार समितिका संयोजक तथा वडा नं. ६ का अध्यक्ष शिवकुमार धवलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिकाका अध्यक्ष मन्जित कुमार यादव (सोनु) प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा बोल्दै अध्यक्ष यादवले वडाले शिक्षाको क्षेत्रमा गरेको कामको प्रशंसा गर्दै गाउँपालिकाले पनि शिक्षालाई नै पहिलो प्राथमिकतामा राखेर अघि बढेको बताउनुभयो । उहाँले शिक्षा सुधारका लागि पालिकाबाट आवश्यक सबै किसिमको सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रमकी विशिष्ट अतिथि, गाउँपालिका उपाध्यक्ष सुनिता चौधरीले शिक्षा सुधारका लागि पालिका निरन्तर लागिपरेको बताउँदै सबैको सामूहिक प्रयासबाट मात्रै शिक्षामा सुधार सम्भव हुने विचार राख्नुभयो । त्यसैगरी, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पन्थीले शिक्षकहरूलाई सबैभन्दा पहिले आफूले आफैलाई फर्केर हेर्न आग्रह गर्नुभयो । उहाँले "हामी कहाँ छौँ, हाम्रो धरातल कहाँ छ, हामी कुन अवस्थामा छौँ" भनी आत्ममूल्याङ्कन गर्न शिक्षकहरूलाई प्रेरित गर्नुभयो ।
कार्यक्रमका अध्यक्ष तथा वडा नं. ६ का अध्यक्ष शिवकुमार धवलले शिक्षा नै सबैभन्दा ठूलो हतियार भएको बताउनुभयो । उहाँले भन्नुभयो, "हतियार भनेको तरवार होइन, हतियार भनेको हाम्रो शिक्षा नै हो । हामीले शिक्षामा उत्कृष्टता हासिल गर्न सकेभने सबैलाई झुकाउन सक्छौँ, तर तरवारले कसैलाई झुकाउन सकिँदैन ।" यही मर्मलाई आत्मसात् गर्दै वडा कार्यालयले शिक्षा सुधार समितिमार्फत शिक्षालाई प्राथमिकता दिएको उहाँको भनाइ थियो । कार्यक्रममा वक्तृत्वकला प्रतियोगिता, अन्तर विद्यालय अतिरिक्त क्रियाकलाप योजना प्रस्तुति, पुरस्कार तथा सम्मान र अन्तरक्रिया जस्ता विभिन्न सत्रहरू समावेश थिए ।