अर्घाखाँची । बढ्दो वन डढेलोको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले अर्घाखाँचीको सन्धिखर्कमा एक दिने जिल्ला स्तरीय कार्यशाला गोष्ठी सम्पन्न भएको छ । विश्व खाद्य संगठन (FAO) र वन तथा कृषि सहज कार्यक्रम (FFF) को सहयोग तथा रिकाफ्ट (RECOFTC) नेपालको आयोजनामा भएको उक्त कार्यक्रममा डढेलो नियन्त्रण र व्यवस्थापनका विषयमा विस्तृत छलफल गरियो । कार्यक्रममा वन विज्ञ विजयराज पौडेल र वरिष्ठ कार्यक्रम अधिकृत निरज बाबु भट्टले डढेलोको जोखिम, बच्ने उपाय र सुरक्षात्मक विधिहरूबारे सहजीकरण गर्नुभएको थियो ।
सहभागीहरूले समूहगत छलफलमार्फत जोखिम न्यूनीकरण, पूर्वतयारी र प्रतिकार्यका लागि आगामी रणनीति समेत तय गरेका छन् । डिभिजन वन कार्यालय र सामुदायिक वन उपभोक्ता महासंघको समन्वयमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति, नगरपालिका, सुरक्षा निकाय, वन कर्मचारी तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो । कार्यक्रम महासंघका अध्यक्ष मधु कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो ।