नेपालगञ्ज । अनलाइन ट्याक्सी तथा बाइक सेवा प्रदायक ‘ई-ड्राइभ नेपाल’ (eDrive Nepal) ले नेपालगञ्जबाट औपचारिक रूपमा आफ्नो सेवा विस्तार गरेको छ। उक्त सेवाको उद्घाटन नेपालगञ्ज उपमहानगरपालिकाका नगरप्रमुख प्रशान्त बिष्टले गर्नुभयो। सेवा शुभारम्भको अवसरमा ई-ड्राइभ नेपालले हल्का गुलाबी रङका १५ वटा कारसहित नेपालगञ्ज र कोहलपुरको बजार परिक्रमा गरेको थियो।
ई-ड्राइभ नेपाल लुम्बिनीका अध्यक्ष राज कुमार गुप्ताका अनुसार कम्पनीसँग हाल ११० वटा कार र ५०० वटा मोटरसाइकल सञ्चालनमा रहेका छन्। संस्थाका नेपालगञ्ज म्यानेजिङ डाइरेक्टर बासु भण्डारीले हाल बाँके र बर्दियामा सेवा सुरु गरिएको र निकट भविष्यमै सुर्खेत तथा सुदूरपश्चिमको धनगढी र महेन्द्रनगरमा सेवा विस्तार गरिने जानकारी दिनुभयो। सेवाग्राहीले मोबाइल एप र वेबसाइटमार्फत अनलाइन बुकिङ गरी यो सेवा लिन सक्नेछन्। ई-ड्राइभ नेपालको प्रधान कार्यालय रूपन्देहीको भैरहवामा रहेको छ।