पछि हट्यो सञ्जाल, आन्दोलनका कार्यक्रम स्थगित
भैरहवा । सिद्धार्थ सञ्जाल रुपन्देहीले १४ दिन देखि जारी आन्दोलन आज देखि स्थगित गरेको छ । संस्कृति पर्यटन एवम उड्डयन मन्त्रालयले एक महिनामा माग पुरा गर्न पहल गर्ने प्रतिवद्धता जनाएकोले आन्दोलन तत्कालको लागि स्थगित गरेको आयोजकको भनाई छ ।
सञ्जालले गौतमबुद्ध अन्र्तराष्ट्रिय बिमानस्थल स्थित धर्ना स्थलमा पत्रकार सम्मेलनको आयोजना गर्दै तत्कालको लागि आन्दोलन स्थगित गरेको जनाएको छ । सञ्जालका अध्यक्ष अनिल कुमार ज्ञवालीले पुष २ गते मन्त्रालयमा बसेको उच्चस्तरीय बैठकमा भएको छलफल अनुसार आवश्यक परे फेरी आन्दोलन गर्ने गरि हाललाई मात्र आन्दोलन स्थगित गरिएको बताए । “मन्त्रालयले लिखित रुपमै अन्र्तराष्ट्रिय बिमानस्थल सञ्चालनको लागि एक महिनाको समय मागेको छ ।” उनले भने “यो एक महिनामा पनि बिमानस्थल सञ्चालन नभए अब निर्णायक आन्दोलन गर्नेछौं ।”
वार्ताको क्रममा संस्कृति पर्यटन एवम उड्डयन मन्त्री सुदन किरातीको ब्यवहार अपमानजनक रहेको सञ्जालका अध्यक्ष ज्ञवालीले गुनासो गरे । “मन्त्रीको ब्यवहार हेर्दा मन्त्री नै अन्र्तराष्ट्रिय बिमानस्थल सञ्चालनमा नरहेको भान भयो ।” उनले भने त्यसकारण अब हाम्रो वार्ता प्रधानमन्त्री संग मात्र गर्नेछौ ।”
सञ्जालका अध्यक्ष मन्त्रीको जवाफ एवम ब्यवहार चित्तबुझ्दो नभएको बताईरहदा पनि आन्दोलन स्थगित गर्नुले यस क्षेत्रका सरोकारवाला निकाय शंसकित भएका छन् । यसले सञ्जालमै विवाद भएको आशंका पनि गर्न सकिन्छ । वार्ता सफल नभएको बताउदै सञ्जालले आन्दोलनलाई निरन्तरता दिने जनाइरहदा एक्कासी आन्दोलन स्थगन गर्नुको कारणबारे स्थानियहरुमा अन्यौल रहेको छ । यसले आन्दोलनको अगुवाई गरिरहेको सिद्धार्थ सञ्जाल रुपन्देही प्रति पनि अविश्वास जगाएको छ ।
सञ्जालले एक महिना पछि निर्णायक आन्दोलन गर्ने बताए पनि यसमा विश्वास गर्ने आधार छैन । यस अघि पनि आन्दालेनको कार्यक्रम घोषणा गर्दै आन्तरिक बिमानस्थल ठप्प पार्ने चेतावनी सञ्जालले दिएको थियो । तर पछि सो कार्यक्रमबाट पनि सञ्जाल पछि हटेको थियो ।
अहिले सिद्धार्थ सञ्जालका अध्यक्ष अनिल कुमार ज्ञवालीले एक महिना पछि निर्णायक आन्दोलन गर्ने जनाईरहदा आन्दोलन कार्यक्रमका संयोजक चन्द्रप्रकाश श्रेष्ठले जति आन्दोलन गरे पनि बिमानस्थल सञ्चालन नहुने ठोकुवा गरे ।
“सन २०२६ सम्म यहा बिनोद चौधरी लगायत ठूला घरानाको होटलहरु खुल्दै छन, २०२७ देखि मात्र अन्र्तराष्ट्रिय बिमानस्थल सञ्चालनमा आउछ ।” श्रेष्ठले भने “त्यस यता जति आन्दोलन गरे पनि जे गरे पनि बिमानस्थल चल्दैन लेखेर राख्नुस ।”
सञ्जालका संस्थापक समेत रहेका श्रेष्ठको यो भनाईले पनि सञ्जालमै बिमानस्थलमा हुने आन्दोलन बारे मतैक्यता नरहेको भान हुन्छ । ब्यवसायीहरुको मात्र प्रयासले बिमानस्थलमा गरिएको आन्दोलन सफल नहुने बताउदै अगुवा राजनेताको उपस्थितिले ब्यवसायीहरुलाई पिरोलेको पनि छ ।
सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले रुपन्देहीको अभिभावक नभएकै कारण बिमानस्थल सञ्चालन हुन नसकेको बताए । “अहिले जिल्लामा नेता कोही छैन जसले केन्द्रमा हाम्रो कुरा राखिदेओस,” श्रेष्ठले भने “बिगतमा बालकृष्ण खाँण, बिष्णु पौडेल लगायतको नेता हुदा केही काम भए पनि अहिले केही हुन सकेन ।”