पोखरा । पोखराको प्राइम सहकारी ठगीप्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । उक्त प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले पोखरा महानगरपालिका वडा नम्बर ४ निवासी ५६ वर्षीया दिपा कोइराला लाई पक्राउ गरेको हो ।
अभियुक्त कोइराला बिरुद्ध प्रहरीले निक्षेपकर्ताहरुको बचत रकम फिर्ता नगरेको, सहकारीको रकम हिनामिना, अपचलन एवं ठगी गरेको आरोप लगाएको छ । पक्राउ परेकी कोइराला उक्त सहकारीको कुन पदमा रहेकी थिइन् भन्ने बारेमा जिल्ला प्रहरी कार्यालय कास्कीले कुनै विवरण खुलाएको छैन ।
पक्राउ परेकी कोइरालालाई कास्की जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जानकारी दिएको छ । उक्त सहकारी ठगीप्रकरणमा कोइरालासहित ६६ जना विरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर भएको छ । जिल्ला सहकारी वकिलको कार्यालयले एक अर्ब ५७ करोड १५ लाख आठ हजार एक सय २४ रुपियाँ बिगो माग दाबी सहित ६६ जना विरुद्ध अभियोग पत्र दायर गरेको थियो ।
सहकारीका विज्ञको वित्तीय विश्लेषण र प्रहरीको अनुसन्धान प्रतिवेदन पछि प्राइमका सञ्चालक, सरकारी कर्मचारी र लेखा परीक्षक विरुद्ध मुद्दा दायर भएको हो । यो गण्डकी प्रदेशकै सबैभन्दा ठूलो सहकारी ठगीको प्रकरण हो ।
जिल्ला सहकारी वकिलको कार्यालयका सहन्यायाधीवक्ता विपिन राज तिवारीले प्राइमका दुई पूर्व अध्यक्ष, वर्तमान अध्यक्ष, आठ जना नेपाल सरकारका कर्मचारी, लेखा परीक्षक लगायत माथि अभियोग पत्र दर्ता भएको जानकारी दिए ।
प्राइम सहकारीमा सर्वसाधारणको बचत र सेयर धनीको सेयर रकम हिनामिना गरेको अभियोगमा कास्की प्रहरीले जेठ १ गते अध्यक्ष सहित आठ जनालाई पक्राउ गरेको थियो । सहकारीका अध्यक्ष शङ्कर कार्की, प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र मणि पौडेल, पूर्वअध्यक्ष नितेश प्रसाद कोइराला, पूर्वकोषाध्यक्ष कुलदीप भट्टराई, कर्जा विभाग प्रमुख सुनील थापा, सञ्चालक मनबहादुर गुरुङ, सहकारी का कानुनी सल्लाहकार अधिवक्ता इन्द्रप्रसाद बराल लगायत लाई पक्राउ गरेको थियो ।
कानुनी सल्लाहकार बराल उच्च अदालत पोखराको आदेशले तारेखमा रिहा भएका छन् भने अभियुक्त सन्तोष घिमिरे अर्कै अभियोगमा कास्की कारागारमा छन् ।
यस अघि नै कास्कीक ामित्र मिलन सहकारी, सूर्य दर्शन बचत तथा सहकारी, बलिदानी बहुउद्देश्यीय सहकारी, विन्दवासिनी सहकारी, शिवशिखर सहकारी र इमेज सहकारीले बचतकर्ताको रकम अपचलन गरी अनियमितता गरेपछि केहीको मुद्दा कास्की जिल्ला अदातलतमा छ भने केही सहकारी बारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।