ओमसतियामा ४० लाखको लागतमा निर्मित ‘बर्थिङ सेन्टर’को भवन उद्घाटन, गाउँमै प्रसुती सेवा पाइने

Ujyalosandeshonline 11469+ समाचार ( )
१९ मंगशिर २०८२, शुक्रबार

भैरहवा । रुपन्देहीको ओमसतिया गाउँपालिकास्थित बसन्तपुर स्वास्थ्य केन्द्रमा नवनिर्मित सुरक्षित मातृत्व तथा बर्थिङ सेन्टरको भवन समुद्घाटन गरिएको छ । प्रदेश सरकारको ४० लाख रुपैयाँ (प्रसुति केन्द्र बजेट) लागतमा निर्माण सम्पन्न भएको उक्त भवनको एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष एवं प्रमुख अतिथि मन्जित कुमार यादव (सोनु) ले समुद्घाटन गर्नुभएको हो ।

भवन उद्घाटन गर्दै अध्यक्ष यादवले नयाँ भवन निर्माणसँगै पालिकामा सुरक्षित प्रसुती सेवा थप प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो । स्वास्थ्य क्षेत्रलाई गाउँपालिकाले पहिलो प्राथमिकतामा राखेको बताउँदै उहाँले भन्नुभयो, "महिला दिदीबहिनीहरुलाई असहज नहोस र पालिका भित्रै गुणस्तरिय सेवा मिलोस भनेर हामीले स्वास्थ्यलाई प्राथमिकता दिएर अगाडी बढेका छौं ।"

त्यस्तै, कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष सुनिता चौधरीले महिला दिदीबहिनीहरुलाई स्थानीय सरकारको अनुभुति हुने गरी काम भइरहेको बताउनुभयो । उहाँले सामान्य प्रसुतीका लागि पनि भैरहवा र बुटवल जस्ता टाढाका सहरमा जानुपर्ने बाध्यता अन्त्य गर्न र गाउँमै सुरक्षित सेवा प्रदान गर्न यो भवन कोसेढुङ्गा साबित हुने बताउनुभयो ।

गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख दिपक ज्ञवालीले यसअघि स्वास्थ्य केन्द्रकै पुरानो भवनबाट सेवा प्रवाह हुँदै आएकोमा अब छुट्टै सुबिधासम्पन्न भवनबाट सेवा दिइने जानकारी दिनुभयो । उहाँका अनुसार नवनिर्मित भवनबाट सुरक्षित मातृत्व, परिवार नियोजन सेवा, प्रसुती सेवा, पोषण तथा ओटीसी (OTC) लगायतका सेवाहरू प्रवाह गरिनेछ । सेवालाई प्रभावकारी बनाउन हाल एक जना मेडिकल अधिकृतसहित ५ जना स्वास्थ्यकर्मीहरूको व्यवस्था गरिएको शाखा प्रमुख ज्ञवालीले बताउनुभयो ।

अखिलेश्वर कुमार पाण्डेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा जमुना पाण्डेयले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय प्रमुख उमा थापा विशिष्ट अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो । उद्घाटन समारोहमा वडाअध्यक्ष प्रकाश सिंह चौधरी, गाउँपालिकाका प्रवक्ता एवं वडाअध्यक्ष मदन प्रसाद पोखरेल, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पन्थी, स्थानीय बुद्धिजीवी तथा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार