लुम्बिनी । लुम्बिनी सांस्कृतिक नगरपालिकामा अवस्थित प्राचीन सिद्धेश्वर महादेव मन्दिरमा गत सोमबारदेखि पवित्र श्रावण महिनाको जलआर्पण शुभारम्भ भएको छ । सूर्योदयभन्दा अघिदेखि नै मन्दिरमा जल चढाउने भक्तजनहरूको घुइँचो लाग्ने गरेको छ ।
लुम्बिनी सांस्कृतिक नगरपालिकाको वडा नम्बर ४ र ५ को संगममा रहेको यो मन्दिर लामो समयदेखि यस क्षेत्रका हिन्दु सनातनी धर्मावलम्बीहरूको आस्थाको केन्द्र बनेको छ । मन्दिरका पुजारीका अनुसार, यहाँ पूजाआजा गर्नाले मनोकामना पूरा हुने जनविश्वास रहेकाले यस मन्दिरको नाम "सिद्धेश्वर महादेव" रहन गएको हो । विगत १८ वर्षको उमेरदेखि ब्रह्मचारीका रूपमा मन्दिरको सेवा गर्दै आएका ७५ वर्षीय पुजारी अस्थनी बाबाले यहाँ जलार्पण गर्ने भक्तजनहरूको मनोकांक्षा पूरा हुने गरेको अनुभव सुनाए ।
स्थानीय मनोज थापाका अनुसार लुम्बिनी क्षेत्र र बाहिरबाट पनि हिन्दु धर्मावलम्बीहरू सोमबारे पूजा तथा जलआर्पणका लागि आउने गरेका छन् । यसले मन्दिरको महत्त्व र ख्यातिलाई थप उजागर गरेको छ ।
पुरातात्विक महत्त्व बोकेको यो मन्दिरलाई एक महाशक्ति स्थलका रूपमा लिइन्छ । पुरातत्त्व विभागले लुम्बिनी क्षेत्रका प्रकटेश्वर महादेव मन्दिर, पैसिया महादेव मन्दिर र सिद्धेश्वर महादेव मन्दिरको खोज तथा अनुसन्धान गर्दा यहाँ प्राचीन शिवलिङ्ग रहेको पुष्टि गरेको छ । विभागले आफ्नो साइन बोर्ड पनि उक्त स्थानमा राखेको छ ।
यद्यपि मन्दिरको विकासका लागि नगरपालिकाले केही बजेट उपलब्ध गराए तापनि शौचालय जस्ता अत्यावश्यक पूर्वाधारको अभाव रहेको छ । मन्दिर समितिले इच्छुक महानुभावहरूलाई सहयोगका लागि अपिल गरेको छ । साथै, समितिले सम्पूर्ण हिन्दु सनातन धर्मावलम्बीहरूलाई यस पवित्र कार्यमा सहभागी भई जलआर्पण गर्न र गराउन आग्रह गरेको छ ।