गण्डकी । पोखरा महानगरपालिका–३१ सुन्दरीडाँडामा सम्पन्न पोखरा महानगरस्तरीय कृषि जैविक विविधता मेलामा पोखरा क्षेत्रमा पाइने ३५० किसिमका रैथाने कृषि प्रजातिको प्रदर्शन गरिएको छ । पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा र कृषि विकास शाखाको आयोजना एवं पोखरा महानगरपालिका–३१, वडा स्तरीय कृषि सञ्जाल, लिबर्ड र जैविक स्रोत संरक्षण अभियानको सहकार्यमा जैविक विविधता प्रदर्शनी गरिएको हो ।
उत्पादक र उपभोक्तासँगै सरोकारवालाको उपस्थितिमा गरिएको प्रदर्शनीमा पोखरा महानगरका २३ वटा वडा सहभागी बनेको कृषि विकास शाखाका प्रमुख मनहर कडरियाले जानकारी दिनुुभयो । स्थानीय रैथाने प्रजातिका बालीको संरक्षण आवश्यक रहेको बताउँदै उहाँले त्यसको संरक्षणका लागि सचेतना जगाउनका लागि पनि मेला आयोजना गरिएको उहाँले बताउनुभयो ।मेलामा १०० भन्दा बढी जडिबुटी, ६५ थरी धान, रैथाने मसाल बाली, कोशे बाली आदिका प्रजातिहरू प्रदर्शनमा राखेका थिए ।