भैरहवा । बालक्लबका पदाधिकारी एवम सरोकारवाला अन्यहरुको लागि २ दिने बालअधिकार तथा बालमैत्री स्थानिय शासन सम्बन्धि अभिमुखीकरण तालीम सोमबार सम्पन्न भएको छ ।
सिद्धार्थनगर नगर पालिका वडा नम्बर ९ को वडा कार्यालयको आयोजनामा भएको अभिमुखीकरण तालीममा बालअधिकार एवम स्थानिय तहलाई बालमैत्री स्थानिय शासन मैत्री बनाउन सहयोग पुग्ने आयोजकको अपेक्षा रहेको थियो । ९ नम्बर वडाका वडा अध्यक्ष शेषकान्त भण्डारीले आजका बालबालिकाहरु भोलीका कर्णाधार रहेको बताउदै उनिहरुको भविष्य तथा अधिकारहरुबारे जानकार हुनुपर्ने बताए । बालअधिकार एवम बालमैत्री स्थानिय शासनको लागि वडाले बालबालिका तथा सरोकारवालालाई अभिमुखीकरण प्रदान गरेको उनले बताए ।
कार्यक्रममा सिद्धार्थनगर नगर पालिकाका अधिकृत कमलकान्त खनाल र यादव सापकोटाले सहजीकरण गरेका थिए । कार्यक्रममा भानु माध्यमिक बिद्यालय र बिन्ध्यावासिनी मिसुज आधारभूत विद्यालयका बालक्लबका पदाधिकारी, बिद्यालयका प्रअ, टोल सुधार समितिका पदाधिकारी, राजनैतिक दलका पदाधिकारीहरुको सहभागीता रहेको थियो । कार्यक्रममा बालक्लबलाई खेलकुद सामाग्री समेत प्रदान गरिएको वडा सचिव अब्दुल रसिद पठानले बताए ।
वडा नम्बर ९ को वडा सदस्य बसुन्धरा शर्माको अध्यक्षता, वडा अध्यक्ष शेषकान्त भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वडा सदस्यहरु युवराज बराल, सविता हरिजन, भानु माध्यमिक बिद्यालयका प्रअ मोतीलाल सुवेदी, गोलिगढ टोल सुधार समितिका अध्यक्ष युवराज पाण्डे लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन वडा सदस्य बसन्त भट्टराईले गरेका थिए ।