मर्चवार । रुपन्देही क्षेत्र नम्बर ४ मा नेकपा (एमाले) का तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार प्रमोद कुमार यादवले मर्चवारको समग्र विकासका लागि नीति निर्माणदेखि भौतिक पूर्वाधार निर्माणसम्मका विस्तृत योजना सार्वजनिक गर्नुभएको छ । घरदैलो अभियानका क्रममा मतदातासँग भेट गर्दै उहाँले मर्चवारलाई कृषि उर्बर क्षेत्रका रुपमा घोषणा गरी सिँचाइको सुदृढीकरण, कृषि उपजको सोझै खरिद–बिक्रीको व्यवस्था र तरेनी थुमुवामा छोटी भन्सार नाका सञ्चालन गर्ने मुख्य प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
यसअघि २०७४ सालमा सांसद हुँदा मर्चवारलाई खपडामुक्त बनाउनुका साथै ग्रामीण समस्याहरू संसदमा उठाएर सडक, शिक्षा र स्वास्थ्यको पहुँच विस्तार गरेको स्मरण गराउँदै यादवले अबको कार्यकालमा मर्चवारका हरेक घरमा शुद्ध खानेपानीको धारा जडान गर्ने घोषणा गर्नुभएको छ । उहाँका भौतिक योजनाअन्तर्गत लुम्बिनी–मर्चवारी र भैरहवा जोड्ने सडकको स्तरोन्नति, मर्चवार रिङरोड निर्माण, दानव नदीमा पक्की पुल निर्माण र डुबान क्षेत्र पहिचान गरी तटबन्ध लगाउने जस्ता महत्त्वपूर्ण कार्यक्रमहरू समेटिएका छन् ।
कृषि, स्वास्थ्य र शिक्षालाई विशेष प्राथमिकतामा राखेका यादवले हरेक पालिकामा १५ शय्याको अस्पताल निर्माण गर्ने, मझगावाको डिग्री कलेजलाई व्यवस्थित गर्ने र कृषि प्राविधिक शिक्षालय सञ्चालन गर्ने लक्ष्य राख्नुभएको छ । यसका साथै मर्चवार लिफ्ट सिँचाइको व्यवस्थापन, निर्माणाधीन शीत भण्डार सम्पन्न गरी बिउबिजन केन्द्र सञ्चालन गर्ने तथा हरेक पालिकामा दमकल र चोकचोकमा सार्वजनिक शौचालयको व्यवस्था मिलाउने उहाँको योजना छ ।
मर्चवारलाई खेलकुद र पर्यटनको केन्द्र बनाउन उहाँले स्थायी अन्तर्राष्ट्रिय कुस्ती स्पोर्ट्स एकेडेमी निर्माण र युवा लक्षित खेलकुद मैदान बनाउने प्रतिबद्धता जनाउनुभएको छ । मर्चवारीमाई, कोटहीमाईलगायतका धार्मिक स्थललाई राष्ट्रिय पर्यटकीय गन्तव्यको सूचीमा समावेश गर्न पहल गर्ने बताउँदै यादवले 'जेन जी' पुस्ताको जोस र 'जेन वाई' पुस्ताको होसलाई साथमा लिएर संघीय सरकारको विशेष कार्यक्रममार्फत ‘समृद्ध मर्चवार, खुसी मर्चवारवासी’ अभियान सफल पार्ने दृढता व्यक्त गर्नुभएको छ ।