भैरहवा । भैरहवामा क्रियाशिल पत्रकार चेतन पन्तको निधन भएको छ । पारिवारीक श्रोतले दिएको जानकारी अनुसार सिद्धार्थनगर नगरपालिका–६ (भैरहवा) दुर्गाकलोनीस्थित निवासमा ६६ वर्षको उमेरमा आईतबार राती ९ः१५ बजे उनको निधन भएको हो । पन्त लामो समय देखि क्यान्सर रोगको उपचार गराई रहेका थिए ।
पन्त भैरहवालाई कर्मस्थल बनाई बिशेषतः पर्यटन र पंक्षी संरक्षणको क्षेत्रमा कलम चलाउथे । समाचार, लेखसँगै देश–विदेशमा गएर शान्तिका अग्रदुत गौतमबुद्धको जन्मस्थल लुम्बिनीको विषयमा जानकारी गराउने, फोटो/भीडियो प्रदर्शनी गर्ने, पर्यटकलाई लुम्बिनी/नेपाल भ्रमणको निम्तो दिने लगायतका कार्यहरु मार्फत पर्यटन प्रर्वद्धनका लागि उनले अभियान नै चलाएका थिए ।
“लुम्बिनी अभियन्ता” नामले परिचित पन्तको निधनमा पत्रकार, उद्योगी, व्यवसायी, नेता, सामाजिक अभियन्ता, विद्यार्थी लगायतले निधनप्रति दुःख व्यक्त गरेका छन् । लुम्बिनी प्रेस क्लबको अध्यक्ष सम्झना शर्माले निधनप्रति दुःख व्यक्त गर्दै पत्रकार पन्तको निधनले पत्रकारिता जगतले एक योग्य, अनुभवी र एकजना मूर्धन्य व्यक्तित्व गुमाएकोले नेपाली पत्रकारिता क्षेत्रमा अपूरणीय क्षति पुगेको बताइन । यस्तै नेपाल पत्रकार महासंघ, रुपन्देहीका अध्यक्ष रामराज पोखेरेलले पनि नेपाल पत्रकार महासंघ, रुपन्देहीको पूर्व सल्लाहकार समेत रहेका पन्तको क्षतिले पत्रकारिता जगतमा अपूरणिय क्षति भएको बताए ।
पन्तको अहिले बिहान ९ बजे भैरहवाको स्वर्गद्वारी घाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ । स्वर्गीय पन्तको श्रीमती र दुई छोरा छन् ।