अर्घाखाँची । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले आगामी फागुन २१ गते हुने निर्वाचनलाई बहिष्कार गर्ने घोषणा गरेको छ । सोमबार अर्घाखाँचीको सन्धिखर्कमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा पार्टीका पोलिटब्युरो सदस्य तथा ५ नम्बर ब्युरो सेक्रेटरी जितामित्र सुनारले सो घोषणा गर्नुभएको हो ।
नेता सुनारले वर्तमान निर्वाचन प्रणालीले जनताको वास्तविक प्रतिनिधित्व गर्न नसकेको र यो जनताको हकहित विपरीत रहेको आरोप लगाउनुभयो । "निर्वाचन बहिष्कार गर्नु अपराध नभई जनताको लोकतान्त्रिक अधिकार हो," भन्दै उहाँले शान्तिपूर्ण रूपमा बहिष्कार आन्दोलन सञ्चालन गरिने स्पष्ट पार्नुभयो ।
कार्यक्रममा सहभागी अन्य नेताहरूले वर्तमान राज्यसत्ताको विकल्पमा जनमुखी राजनीतिक बाटो आवश्यक रहेकोमा जोड दिएका थिए । बहिष्कारका क्रममा कुनै पनि हिंसात्मक गतिविधि नगरी शान्तिपूर्ण ढंगले जनचेतना फैलाइने पार्टीले जनाएको छ । जिल्ला सेक्रेटरी राजेन्द्र नेपालीको अध्यक्षता र बुद्धिराम गैरेको सञ्चालनमा सम्पन्न कार्यक्रममा नेताहरूले सरकारलाई जनआवाज सुन्न र राजनीतिक परिवर्तनतर्फ अग्रसर हुन आग्रह समेत गरेका थिए ।