रूपन्देही । भैरहवास्थित भीम अस्पतालमा आज सञ्चालित शारीरिक अपाङ्गता घुम्ती शिविरबाट ८१ जना स्थानीय बालबालिका लाभान्वित भएका छन् । सिद्धार्थनगर नगरपालिका र अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापना केन्द्र (एचआरडीसी) बनेपाको आयोजना तथा स्थानीय भीम अस्पतालको समन्वयमा शिविर सञ्चालन भएको हो ।
आयोजकका अनुसार शिविरमा ७५ जना बालबालिकाले फिजियोथेरापी सेवा लिएका थिए । तीमध्ये १० जनालाई विशेष प्रकारका सहायक जुत्ता वितरण गरिएको थियो । चार जनालाई ‘प्लास्टरर’ लगाइएको छ भने ३७ जना बालबालिकाको ‘अर्थोपेडिक’ सहायक सामग्रीका लागि नाप जाँच गरिएको छ । त्यसैगरी १० जना बालबालिकालाई शल्यक्रियाका लागि मिति तोकिएको र तीन जनालाई चिकित्सकसँग थप परामर्शका लागि समय मिलाइएको आयोजकले जनाएको छ ।
यसै सन्दर्भमा आयोजित कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा अधिकारीले केही वर्षदेखि विशेषज्ञ चिकित्सकको संलग्नतामा शिविर सञ्चालन गरिँदै आएको जानकारी गराउँदै स्थानीयतहमा हुने यस किसिमका घुम्ती शिविरबाट बिरामीको उपचार खर्च र समयको बचतसहित चिकित्सकीय सेवा प्राप्त गर्न सहज हुने धारणा व्यक्त गर्नुभयो ।