भैरहवा । रुपन्देहीमा सुरु भएको प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा घरेलु मैदानको फाईदा उठाउदै लुम्बिनी प्रदेशले पहिलो जित निकालेको छ । रुपन्देहीको सिद्धार्थ क्रिकेट रङ्गशालामा भएको खेलमा लुम्बिनी प्रदेशले कोशी प्रदेशलाई २६ रन अन्तरले पराजित गरेको छ ।
२०९ रनको लक्ष्य सहित मैदान छिरेको कोशी प्रदेशलाई निर्धारित ५० ओभरमध्ये ४२ दशमलव ४ ओभरमा १८२ रनमै अलआउट गर्दै लुम्बिनीले जित निकालेको हो । कोशी प्रदेशका सुरुका ब्याट्सम्यानहरु राम्ररी चलेका थिए । तर मध्यक्रम भङ्ग भए संगै पुछारका ब्याट्स म्यान चल्न नसक्दा कोशीले पराजय व्यहोर्नु परेको छ । कोशी प्रदेशका लागि सुजन थपलियले सर्वाधिक ३५ रन, शुभन गहतराजले २९ रन, चिराग शाहले ३१ रन बनाए । यस्तै सकिब हकले २७ रन र अंकित सुवेदीले १८ रनको व्यक्तिगत योगदान गरे ।
बलिङ्गमा लुम्बिनी प्रदेशका ८ दशमलव ४ ओभर बलिङ्ग गरेका अजय चौहानले ३२ रन खर्चिदै कोशीको महत्वपूर्ण ५ वटा विकेट लिए । यस्तै रमेश कुर्मीले ३ तथा देव खनाल र कृष्ण कार्कीले समान १/१ विकेट लिए ।
यस अघि सिद्धार्थ क्रिकेट रङ्गशालामा टस जितेर पहिला ब्याटिङ्ग रोजेको लुम्बिनी ४८ ओेभरमा आफ्ना सबै विकेट गुमाउदै २ सय ८ रन बनाएकोे थियो । लुम्बिनीका लागि आकाश त्रिपाठीले सर्वाधिक ६६ रन बनाए । ९० बलको सामना गर्दै आकाशले ७ चौका र १ वटा छक्का प्रहार गरे । मृनाल गुरुङ्गले ६१ बलमा ५ चौकाको सहायताले ४३ रन बनाए भने नर सार्कीले ४५ रनको ब्यक्तिगत स्कोर जोडे । लुम्बिनीले १२ रन अतिरिक्त रनको रुपमा पाएको छ ।
बलिङ्ग तर्फ कोशी प्रदेशका प्रकाश कार्कीले १० ओभरमा २ मेडेन सहित ३३ रन खर्चिएर ३ विकेट र दिपेश कंडेलले १० ओभरमा १ मेडेन राख्दै २७ रन खर्चेर ३ विकेट लिएका छन् । यसै गरि फिर्दोश अन्सारीले २ तथा विपिन महतो र अंकित सुवेदीले समान १/१ विकेट हासिल गरे ।
५ विकेट लिएर लुम्बिनीका अजय चौहान खेलको म्यान अफ द म्याच घोषित भए ।
सिद्धार्थ क्रिकेट रङ्गशालामा सोमबारको खेल बाग्मती प्रदेश र बिभागीय टोली नेपाली सेना बिच हुनेछ ।