रामेछाप । रामेछाप र दोलखाको सिमानामापर्ने प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थलशैलुङमा जनैपूर्णिमा को अवसरमा विशेष मेला लागेको छ । गत साउन २१ गतेदेखि सुरु भएको मेला शुक्रबार सकिँदैछ । मेला जनैपूर्णिमाको अवसरमा हरेकवर्ष तीनदिनसम्म लाग्ने गर्दछ । देशका विभिन्न जिल्लाबाट आएका हजारौँ श्रद्धालुहरू धार्मिक महत्व र प्राकृतिक सौन्दर्य अवलोकन गर्न शैलुङमा जम्मा भएका छन् ।
शैलुङमा लाग्ने मेला रामेछाप, दोलखा, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, काठमाडौं उपत्यका सहितका क्षेत्रका मानिसको भक्ति र परम्पराको केन्द्र हो । जनैपूर्णिमाका अवसरमा धामीहरू यहाँ आएर सिद्धि प्राप्त गर्ने साधना गर्छन् । रातभर जाग्राम बसेर तान्त्रिक विधिअनुसार पूजाआजा गर्ने परम्परा रहँदै आएको छ । उनीहरू यो अवसरलाई आत्मबल र धार्मिक शक्ति प्राप्त गर्ने महत्त्वपूर्ण समय मान्दछन् ।
शैलुङलाई हिन्दु र बौद्ध दुवै धर्मावलम्बीका लागि समान रूपले पवित्र स्थल मानिन्छ । धार्मिक विश्वास अनुसार यही शिखरमा भगवान् बास रहेको छ । बौद्ध अनुयायीहरू पनि यहाँ बुद्धले पाइलो टेकेको विश्वास गर्दछन् । यही कारण शैलुङमा हिन्दु र बौद्धधर्मालम्बीहरु आस्थापूर्वक जाने गर्दछन् ।
शैलुङको चुचुरोमा पुगेपछि उत्तरतर्फको विशाल हिमशृङ्खला, पूर्व–पश्चिम फैलिएका एक सय बढी थुम्काहरू, हरियाली सहितको मनोरम वातावरणले मेलामा आउने प्रत्येक दर्शनार्थी लाई भक्ति र शान्तिको अनुभूति दिलाउँछ । शैलुङक्षेत्र पछिल्लो समय पर्यटनको गन्तव्यस्थल बन्न थालेको छ। मेलामा सहभागी हुने दर्शनार्थीहरूका लागि स्थानीयबासिन्दाले होमस्टे सञ्चालन गरेका छन् ।
उनीहरूले स्थानीय खाना, नाचगान, सांस्कृतिक प्रदर्शन र सेवा सुविधाको व्यवस्थापन गरिरहेका छन् ।यहाँ पुगेका पाहुनाले मात्र होइन, स्थानीयबासिन्दाले समेत मेलाको अवसरमा आम्दानी गर्नेर संस्कृति देखाउने सुनौलो अवसरको रूपमा यसलाई लिएका छन् ।मेलामा स्थानीयकृषि उत्पादन, चौँरीको दूधबाट बनेको छुर्पी लगायतका परिकारहरूको राम्रो व्यापार हुने गरेको छ ।
स्थानीयपर्यटन व्यवसायीदावासङ्बु शेर्पाका अनुसार यस वर्ष श्रावण महिनामा मात्र ३० हजारभन्दा बढी मानिस शैलुङको भ्रमणमा आएका छन् ।यसले पर्यटनको ठुलो सम्भावनादेखाएको उनको भनाइ छ ।
मेलाका कारण व्यवसाय मात्र होइन, सांस्कृतिक आदान–प्रदान, धार्मिक आस्थार स्थानीय पहिचान बलियो बनेको छ। पहिला कठिन बाटो भएर जानुपर्नेशैलुङ हाल सडक सञ्जालसँगजोडिएपछि पर्यटकको सङ्ख्या उल्लेखनीय रूपमा बढेको छ ।
शैलुङमालागेको मेला केवलधार्मिक र सांस्कृतिक पक्षमा सीमितछैन, यसले आर्थिक तथा सामाजिक रूपमा पनि प्रभाव पारिरहेको छ । ‘ शैलुङक्षेत्रलाई केही व्यवस्थित र व्यवस्थापनगर्न सक्ने हो भने देशको आकर्षक पर्यटकीय गन्तव्य बनाउन सकिन्छ’, रामेछापको खाँडादेवी गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले भने ।
शैलुङ जस्तो धार्मिक, सांस्कृतिक र प्राकृतिक स्थललाई प्रवद्र्धन गर्न योजनाबद्ध पहल आवश्यक देखिन्छ। यसलाई धार्मिक पर्यटन सर्किटको रूपमा विकास गर्न सके यस क्षेत्रले मुलुककै पर्यटन नक्सामाविशेष स्थानओगट्न सक्छ। यहाँको धार्मिक विविधता, भू–स्वरूप, सांस्कृतिक धरोहर र मानवीय आतिथ्यता त्यसको प्रमुख आधार बन्न सक्छ।
हरेकवर्ष जनैपूर्णिमा नजिकिँदै जाँदा शैलुङको शिखरतिर मानिसको ताँती लाग्छ। त्यो केवल एक पर्वका लागि होइन, श्रद्धा, विस्मय र आत्मानुभूतिको यात्राका लागि हो । जहाँ आकाश छुने पहाडमाथि महादेव र बुद्धको पाइला अडिएको विश्वास पलाउँछ, जहाँ भक्तिभाव झल्कन्छ र जहाँ परम्पराले विगतको संस्कार र संस्कृति सम्झाउँछ ।