भैरहवा । भैरहवामा जारी स्वर्गीय शेरबहादुर सेन्चुरी स्मृति अन्तरविद्यालय टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत बुधबार भएका दुई खेलमा अमरज्योति इङ्गलिस स्कूल र होराइजन जीबीएस विजयी भएका छन् । अमज्योतिले काशी नोबल एकेडेकीलाई सुपर ओभरमा पराजित गर्दै जित निकाल्दा होराइजनले सिद्धार्थ मेमोरियललाई ७० रनले पराजित गर्दै जित हात पारेको छ ।
यहाँस्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस हारेर ब्याटिङ गरेको काशी नोबलले अलआउट हुँदै १ सय ६ रन बनायो । उसका लागि आयुष भण्डारीले २४, श्रेयस बस्नेतले २२ र आर्यन भण्डारीले १९ रन बनाए । बलिङमा अमर ज्योतिका सम्राट बरालले ३, रवि खानले २ तथा रवि मौर्य, सोयम बराल र विनायक शर्माले १–१ विकेट लिए ।
जवाफी ब्याटिङ गरेको अमर ज्योतिले ७ विकेटको क्षतिमा १ सय ६ रन नै बनायो । उसका लागि विनायक शर्माले ३५, आयुष श्रीवास्तबले १९ र प्रनिश ढकालले ११ रन बनाए । बलिङमा काशीका आर्यन भण्डारीले ३ तथा संगम घर्ती, शिव गुप्ता र कविन थापा मगरले समान १–१ विकेट लिए । सम्राट बराल म्यान अफ द म्याच भए ।
यस्तै, दोस्रो खेलमा होराइजन जीबीएसले टस जितेर ब्याटिङ गर्दै ५ विकेट गुमाएर १ सय ७४ रन बनायो । उसका लागि सुनिल लोधले अविजित ५९ रनको अर्धशतकीय पारी खेले । यस्तै, सोहन अलीले ३१, प्रसोन पोखरेलले २३ र कुशल पौडेलले १७ रन बनाए । बलिङमा सिद्धार्थ मेमोरियलका सिशान पन्थीले २ तथा आकाश आचार्य र सुुजल बर्नेलले समान १–१ रन बनाए ।
जवाफमा सिद्धार्थ मेमोरियलले ७ विकेट गुमाएर १ सय ४ रन मात्र बनायो । उसका लागि सुशान्त शाहीले ३३, रिजन गैरेले २० र सिशान पन्थीले १४ रन बनाए । बलिङमा होराइजनका कुशल पौडेलले ३, शिवप्रसाद यादव, शाहज अर्याल र सोहन अलीले १–१ विकेट लिए । सुनिल लोध प्लेयर अफ द म्याच भई पाँच सय रुपैयाँ प्राप्त गरे ।
रुपन्देहीका ३० वटा विद्यालयकोे सहभागिता रहेको प्रतियोगिताको विजेता टिमले नगद ५० हजार र उपविजेताले २५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक उदयकुमार मल्लिकले जानकारी दिए । यस्तै, म्यान अफ द सिरिजले १० हजार, बेष्ट बलर र बेष्ट ब्याटरले समान ५–५ हजार, प्रत्येक खेलको म्यान अफ द म्याचले ५ सय रुपैयाँ र अनुसाशित टिमलाई पनि पुरस्कृत गरिने आयोजकले जनाएका छन् । प्रतियोगिता पुस १ गतेसम्म चल्ने छ । प्रतियोगितालाई पर्वत ज्वेलर्स, भैरहवाले प्रायोजन गरेको छ ।