भैरहवा । गत भदौ २३ गतेदेखि देशभर भएका प्रदर्शन र त्यस क्रममा कारागार कार्यालयहरूमा भएको तोडफोड तथा आगजनीपछि फरार भएका कर्तव्य ज्यान मुद्दाका एक कैदीलाई रुपन्देही प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका अनुसार, जगन्नाथदेवल कारागार कार्यालय, काठमाडौंबाट फरार भएका रुपन्देही गैडहवा गाउँपालिका वडा नं. ६ निवासी ६५ वर्षीय पुणतबासी लोनियालाई पुनः पक्राउ गरिएको हो ।
लोनिया कर्तव्य ज्यान मुद्दामा कैद सजाय भोगिरहेका थिए। इलाका प्रहरी कार्यालय सुर्यपुराबाट खटिएको प्रहरी टोलीले गैडहवा गाउँपालिका वडा नं. ६, गुलरियास्थितबाट लोनियालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। पक्राउ परेका लोनियालाई आवश्यक प्रक्रिया पुर्याएर कारागार कार्यालय रुपन्देहीमा बुझाइएको छ।