भैरहवामा मल-खादको अभाव विरुद्ध प्रदर्शन, प्रधानमन्त्रीलाई ज्ञापनपत्र

Ujyalosandeshonline 11469+ समाचार ( )
३१ श्रावण २०८२, शुक्रबार

भैरहवा । मल-खादको चरम अभाव समाधानको माग गर्दै संघीय लोकतान्त्रिक मोर्चाले शुक्रबार रुपन्देहीको भैरहवामा विरोध प्रदर्शन गरेको छ । मोर्चामा आबद्ध विभिन्न दलका नेता तथा कार्यकर्ताले प्रदर्शनपछि प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।

जनता समाजवादी पार्टी नेपाल (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय मुक्ति पार्टी र जनता प्रगतिशील पार्टी लगायतका दलहरुले संयुक्त रूपमा भैरहवामा प्रदर्शन गरी जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएका थिए ।

सरकारले समयमै मल-खादको व्यवस्था गर्न नसक्दा किसानहरू मारमा परेको भन्दै जसपा नेपाल रुपन्देहीका अध्यक्ष सियाराम यादवले सरकारलाई ध्यानाकर्षण गराउन ज्ञापनपत्र बुझाइएको बताउनुभयो । उहाँले किसानको समस्यालाई बेवास्ता गरिए कडा आन्दोलनमा उत्रिने चेतावनी समेत दिनुभयो ।

कार्यक्रममा बोल्दै जसपाका केन्द्रीय सदस्य कैलाश गुरुङले मोर्चाको आन्दोलनलाई कमजोर नठान्न सरकारलाई चेतावनी दिनुभयो । नागरिक उन्मुक्ति पार्टीकी केन्द्रीय सदस्य नन्दा चौधरीले किसानले समयमै मल नपाउने र उत्पादनको उचित मूल्य पनि नपाउने गरेको गुनासो गर्नुभयो ।

जसपा नेपाल लुम्बिनी प्रदेशका कार्यबाहक अध्यक्ष राम अवतार यादवले वर्तमान सरकार किसानको समस्या समाधानमा असफल भएको आरोप लगाउनुभयो । कार्यक्रममा अन्य वक्ताहरूले कृषिप्रधान देशमा सरकारले किसानलाई मल जस्तो अत्यावश्यक सामग्री उपलब्ध गराउन नसकेको भन्दै सरकारको आलोचना गरेका थिए । ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेले मोर्चाको मागलाई नेपाल सरकारसमक्ष पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार