धनगढी । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा एक कार्यक्रमका बिच सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक डम्बर बहादुर बि.क. र मातहतका विभिन्न कार्यालय प्रमुखहरु बिच आर्थिक वर्ष २०८२/०८३ को लागि "बार्षिक कार्यसम्पादन सम्झौता" मा हस्ताक्षर कार्यक्रम सम्पन्न भयो ।
भौतिक तथा भर्चुअल उपस्थितिमा सम्पन्न यस कार्यक्रममा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरिया, सुदूरपश्चिम प्रदेश प्रहरी गण धनगढी, जिल्ला प्रहरी कार्यालय कैलाली, कञ्चनपुर, सुदूरपश्चिम प्रदेश प्रहरी अस्पताल, सुदूरपश्चिम प्रदेश प्रहरी बिपद व्यवस्थापन गुल्म महेन्द्रनगर, सुदूरपश्चिम प्रदेश प्रहरी बिद्यालय धनगढी लगायतका प्रमुखहरुले हस्ताक्षर गर्नुभयो। अन्य जिल्ला प्रहरी कार्यालयका प्रमुखहरु भर्चुअल माध्यमबाट सहभागी हुनुहुन्थ्यो।
सम्झौतामा हस्ताक्षर गर्दै मातहतका कार्यालय प्रमुखहरूले उपलब्धिमूलक प्रहरी सेवा प्रदान गर्नका साथै सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र परिणाममुखी बनाउन प्रतिबद्धता जनाएका छन्।
प्रदेश प्रहरी प्रमुख डम्बर बहादुर बि.क.ले यस अवसरमा उपस्थित सबैलाई निर्देशन दिँदै वार्षिक कार्यसम्पादन सम्झौता नेपाल प्रहरीको काम कारबाहीको मेरुदण्ड रहेको बताउनुभयो। उहाँले प्रहरी सेवालाई चुस्त दुरुस्त बनाउन र आम नागरिकले प्रत्यक्ष अनुभव गर्ने गरी सेवा प्रदान गर्न विशेष प्राथमिकता दिन आग्रह गर्नुभयो।
साथै, कार्यसम्पादन सम्झौता कार्यालय प्रमुखको कार्यसम्पादन मूल्यांकनको प्रमुख आधार समेत रहेकोले यसको कार्यान्वयनमा सक्रिय भएर लाग्न निर्देशन दिनुभयो।कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी अधिकृतहरूको समेत उपस्थिति रहेको थियो।