अर्घाखाँची । दलित महिला संघ (फेडो) अर्घाखाँचीले युएन वुमनको साझेदारीमा सञ्चालित 'हाम्रो साहस' परियोजना अन्तर्गत सदरमुकामस्थित भगवती माध्यमिक विद्यालयमा नागरिक शिक्षा कार्यक्रम सम्पन्न गरेको छ। न्यायमा पहुँच र सशक्तीकरणको उद्देश्यले विद्यालयको कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूका लागि यो अनुशिक्षण कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा सहजीकरण गर्दै अधिवक्ता विजय केसीले सभ्य, अनुशासित र परोपकारी समाज निर्माणको मुख्य आधार नै नागरिक शिक्षा भएको बताए। उनले सामाजिक सद्भाव, एकता कायम राख्न तथा एक-अर्काको विचार र अधिकारको सम्मान गर्ने बानीको विकास गर्न नागरिक शिक्षा अपरिहार्य रहेको धारणा राखे । त्यस्तै, विद्यालयका प्रधानाध्यापक ध्रुव बी. केसीले विद्यार्थीहरू राष्ट्र निर्माणका अभियन्ता भएको बताउँदै सभ्य समाज निर्माणका लागि हरेक नागरिक सचेत र जिम्मेवार हुनुपर्नेमा जोड दिए ।
संस्थाकी सचिव बसन्ता आचार्य गहतराजको अध्यक्षता र पत्रकार अनिल नेपालीको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रममा संस्थाकी कार्यक्रम संयोजक राधा नेपालीले विषयवस्तु माथि प्रकाश पारेकी थिइन्। फेडोले विगत केही महिनादेखि जिल्लामा हानिकारक सामाजिक विभेदविरुद्ध विभिन्न अभियान सञ्चालन गर्दै आएको छ। हाल 'हाम्रो साहस' कार्यक्रम भूमिकास्थान नगरपालिकाको वडा नं ३ र ४ तथा सन्धिखर्क नगरपालिकाको वडा नं २ र १० मा सञ्चालन भइरहेको छ।