काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)
का सदस्य सचिव टंकलाल घिसिङले झेजियाङ खेलकुद ब्युरो चीनका निर्देशक एवं १९ औं एसियाली
खेलकुद आयोजक कमिटीका उपसचिव झेङ याउसँग भेटवार्ता गरेका छन् ।
भेटमा उनले सुरुआतमा केही निश्चित खेलबाट
सहकार्य गर्न चाहेको बताएका छन् । सदस्य सचिव घिसिङले
झेङ याउको नेतृत्वमा आएको टोलीसँग शुक्रबार त्रिपुरेश्वरस्थित आफ्नै कार्यकक्षमा भएको
भेटका क्रममा सो कुरा बताएका हुन् ।
‘सुरुआतमा केही निश्चित खेलबाट सहकार्य गर्न
चाहन्छौं । कुन कुन खेलमा कसरी अगाडि बढ्ने भन्ने विषयमा हामी खाका तयार गरेर फेरि
यहाँहरुलाई सम्पर्क गर्छौं’ सदस्य सचिव घिसिङले भने ।
उनले १९औं एसियाली खेलकुद सफलतापूर्वक आयोजना
गर्नुका साथै टिम च्याम्पियन बन्न सफल भएकोमा बधाइ दिँदै झेजियाङ प्रदेशले खेलकुद,
आर्थिकलगायत
विभिन्न क्षेत्रमा गरेको प्रगति सुनेर खुसी लागेको बताए ।
सदस्य सचिव घिसिङले चिनियाँ नयाँ वर्षको
उपलक्ष्यमा नेपाल र चीनबीच नेपालमा उमेर समूहको फुटबल प्रतियोगिता आयोजनाका लागि पनि
छलफल भइरहेको बताएका थिए ।
निर्देशक झेङ याउले १९ औं एसियाली खेलकुदमा
नेपालको सहभागिता उत्साहनजक रहेको बताउँदै भेटको उद्देश्य खेलकुदमा दुई पक्षबीच कसरी
सहयोग आदानप्रदान गर्न सकिन्छ भन्ने रहेको बताए ।
उनले झेजियाङ प्रदेशका खेलाडीले ओलम्पिकलगायत
महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट नतिजा हासिल गरेको बताउँदै छलफललाई
निरन्तरता दिँदै नेपाली खेलकुदलाई सक्दो सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त
गरे ।
भेटका अवसरमा झेङयाउको नेतृत्वमा आएको ९
सदस्यीय टोलीसहित राखेपका सदस्य अञ्जन धमला, नेपाल खेलकुद विज्ञान
प्रतिष्ठान (सान) का निर्देशक कृष्णप्रसाद तिमिल्सिना, राष्ट्रिय टिम तयारीका
निर्देशक दीपक विष्ट लगायतको उपस्थिति थियो ।