बुटवल। सैनामैना नगरपालिकाको चौधौँ नगर सभा सम्पन्न भएको छ । नगरपालिका नगरप्रमुख फणेन्द्र प्रसाद शर्माले नगरपालिकाले चालु आर्थिक वर्षमा गरेका कार्यप्रगतिहरु प्रस्तुत गरेका छन् । केही योजनाहरु संशोधन भएको छ । कुन कुन क्षेत्रमा के के ?काम भए यो हेर्नुहोस्।
स्वास्थ्य तर्फ
- ड़ेंगु रोग नियन्त्रणको लागि स्वास्थ्य कर्मी, महिला सामुदायिक स्वास्थ्य स्वयम् सेविका, टोल विकास सस्था, जनप्रतिनिधि लगाएतको उपस्थितिमा विभिन्न चरणमा जनचेतना तथा सरसफाई कार्यक्रम सम्पन्न भएको छ र शितलहर बाट हुने जोखिम ब्यबस्थापनको लागि अत्यावस्यक औषधी तयारि अवस्थामा रहेको छ ।
- मुटु, मृगौला रोग, क्यान्सर रोग जस्ता घातक रोगबाट वचाउनका लागि विपन्न नागरिक उपचारको लागि संघ तर्फ 44 जना र प्रदेश तर्फ 14 जनाको लागि सिफारिस गरिएको छ र निजहरुको लागि मासिक 5 हजार वितरण गर्ने तयारी रहेको छ ।
- गर्भवति, जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा वेवारिसे 307 जना नागरिकहरुलाई निशुल्क एम्वुलेन्स सेवा उपलब्ध गराईएको छ ।
- पर्रोहा स्वास्थ्य चौकीको बर्थिंङ सेन्टर वाट १८६ जना महिला हरुलार्इ निशुल्क प्रसुती सेवा तथा प्रसुती पश्चात उत्तर प्रसुती र नगरपालिकाबाट प्राप्त गरिने थप पोषण सुविधा उपलब्ध गराउनुको साथै नवजात शिशुको जाँच सम्पन्न भएको छ ।
- नसर्ने रोग मध्ये सवैभन्दा बढी देखिएको महिलाको पाठेघरको क्यान्सरलाई नियन्त्रण गर्नको लागि स्क्रिनिङ्ग गरी समयमै रोग पत्ता लगाई जटिलता हुन नदिनको लागि सवै स्वास्थ्य संस्थाबाट भि आइ ए सेवा लाई निरन्तरता दिईएको छ ।जसमा १२७ जना महिलाले सेवा प्राप्त गरेका छन ।
- नेपाल सरकारले तोकेका तथा यस सैनामैना नगरपालिकाले थप गरेका सूची अनुसारको औषधि तथा औषधिजन्य सामाग्री खरिद गरी वितरण गरिएको छ ।
- यस नगरपालिका अन्तरगत सवै स्वास्थ्य संस्थाहरुको पालिका स्तरीय वार्षिक समीक्षा सम्पन्न भएको छ ।
- सैनामैना नगरपालिका अन्तरगतका ६ वटा स्वास्थ्य संस्थाहरुको न्युनतम सेवा मापदण्ड स्वास्थ्य संस्था संचालन तथा व्यवस्थापन समितिको सहभागितामा सम्पन्न भएको छ ।
- पर्रोहा स्वास्थ्य चौकीबाट संचालन भएको एन्टी रेविज भ्याक्सिनबाट सैनामैना नगरपालिका सहित अन्य पालिकाबाट ४५० भन्दा बढि नागरिकले सेवा लिएका छन । नियमित खोप सेवा अन्तरगत ५९६ जना १५ महिना मुनिका वालवालिकहरुले पुर्ण खोप सेवा प्राप्त गरेका छन ।
- 0 देखि 23 महिना भित्रका 597 जना वालवालिकाहरुको तौलको अनुगमन गरिएको छ । जस मध्ये १६ जनामा कडा कुपोषण भेटिएकोले उपचार गरिएको छ ।
- सैनामैना नगरपालिका अन्तरगतका कुल 33343 जना विरामीहरुले सेवा लिएका छन ।
हाल सम्म स्वास्थ्य सेवा तर्फ जम्मा 25.96 प्रतिशत प्रगति भएको छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक तर्फ
महिला तथा बालबालिका तर्फ आ.व.०८०।०८१ को हाल सम्मको प्रगति विवरण प्रस्तुत गर्न चाहान्छु ।
- अपाङ्गता क्षेत्रमा काम गर्ने संघ सस्थाहरु बीच अन्तरक्रिया कार्यक्रम सन्चालन गरिएका छन । अपाङ्गता परिचय पत्र वितरण समन्वय बैठक सञ्चालन गरी जम्मा १३२ वटा अपाङ्गता परिचय पत्र वितरण गरिएको छ ।
- विभिन्न दिवसीय कार्यक्रम अन्तरगत मानव बेचबिखन तथा ओसारपसार बिरुद्धको दिवसको अवसरमा कार्यपत्र प्रस्तुत तथा छलफल, राष्ट्रिय बालदिवस, अन्तराष्ट्रिय अपाङ्गता दिवसको अवसरमा कार्यपत्र प्रस्तुत तथा छलफल, र लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानमा विभिन्न कार्यक्रमको आयोजना गरि सम्पन्न गरिएको छ । जस अन्तर्गत एकल महिलाहरुको लागि कानुनी अधिकार तथा क्षमता विकास तालिम, जनप्रतिनिधी तथा संघ संस्थाका पदाधिकारीहरुलाई कानुनी अधिकार तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएका छन ।
- विभिन्न संघ संस्थामा आवद्ध महिलाहरुलाई कानुनी अधिकार तथा उद्धघोषण तालिम सम्पन्न गरिएको छ ।
- महिलासंग उपप्रमुख कार्यक्रम अन्तरगत समन्वय समितिको पुर्नगठन गरी समितिको निर्णय अनुसार अचार बनाउने तालिम सम्पन्न गरिएको छ । गैर सरकारी संस्थासंगको समन्वयमा ३ महिने फेसन डिजाइनर तालिम सन्चालनको लागि सम्झौता भइसकेको छ भने महिलाहरुलाई उद्यमी वनाउन 10 दिने फुल्की वनाउने तालिमको लागि सम्झौता भई सकेको छ ।
स्थानीय बिकास कोष तर्फ
- सामाजिक परिचालनको माध्यमबाट गरिवी न्यूनीकरण गर्ने उद्देश्यले सञ्चालित स्थानयि विकास कोष कार्यक्रमको मूल मन्त्र “संगठन ,बचत र सीप ” विकासको माध्यमबाट समुदायमा दलित ,आदिवासी, जनजाति र पिछडिएका वर्ग एवम् महिलाहहरुको सामाजिक , आर्थिक सशक्तिकरणमा टेवा पुर्याई आर्थिक एवं सामाजिक सेवामा पहुँच बढाउन गाउँ बस्ती स्तरका घरधुरी समेटेर महिला, पुरुष तथा मिश्रित समूह गठन गर्ने, बचत संकलन गर्न प्रोत्साहित गरी सामुहिक जमानतमा विनाधितो ऋण प्रवाह गरी आयआर्जन गर्न प्रोत्साहन गर्ने ,सीप प्रदान गर्ने र उत्पादनमूलक पूर्वाधार तथा प्रविधि विकासमा सहयोग गर्ने गरेको छ । यसरी सैनामैना नगरपालिकामा जम्मा ११५ वटा सामुदायिक संस्था गठन भएका छन जसमध्ये पुरुष सामुदायिक संस्था २२ वटा, महिला सामुदायिक संस्था ६५ वटा, र मिश्रित सामुदायिक संस्था २८ वटा रहेका छन्। सामुदायिक संस्थामा आवद्ध सदस्यहरुको संख्या ३५४३ रहेको छ ।
- स्थानीय विकास कोष गठन भएपश्चात हालसम्म ४१ वटा अध्यक्ष मेनेजर भेला सम्पन्न भएका छन् ।
- सामुदायिक संस्थाहरुको माग अनुसार घुम्तीकोष लगानी गरिदै आएको भएको छ । उक्त रकम सामुदायिक संस्थाका सदस्यहरुमा विभिन्न आयमुलक ब्यवसायमा लगानी हुदै आएको छ । बिना धितो सहुलियत ब्याजदरमा प्रति सामुदायिक संस्था बढीमा रु. ५ लाख सम्म घुम्तीकोष ऋण प्रदान गरिएको र यसरी ऋण लगानी गर्दा सामुहिक ब्यवसाय तथा क्रियाकलापलाई प्राथमिकता दिइ लगानी गर्ने गरिएको छ । उक्त घुम्तीकोष लगानीको रकम रु. ८४ लाख रहेको छ।
- सैनामैना नगरपालिकाबाट आ.व. २०८०।०८१ मा प्राप्त रकमबाट सामुदायिक संस्था परिचालन र सी.एम.सी. कार्यक्रम सञ्चालन ,सामुदायिक संस्थामा सामुहिक खेतीको लागि विउ विजन वितरण र लेखा तथा समूह व्यबस्थापन तालिमको लागि रु. ५ लाख ९४ हजार ३ सय ९ खर्च भएको छ । घुम्तीकोष तर्फ साँवा रु. २५ लाख ५० हजार र ब्याज २ लाख ५ हजार ८ सय ७५ रकम असुली भएको छ भने लगानी 33 लाख 50 हजार भएको छ । उक्त कार्यक्रममा स्थानीय विकास सञ्चालक समितिको बैठक ६ वटा र नगर स्तरिय अध्यक्ष मेनेजर भेला कार्यक्रम ५ वटा र वडाका बस्तीस्तरमा गठन भएका सामुदायिक संस्थाहरुको मासिक रुपमा सञ्चालन हुने बैठकहरु नियमित रुपमा सम्पन्न भएका छन् ।
- सैनामैना नगरपालिकाको वडा नं. १ देखि 9 सम्म सन्चालन भइ रहेको सामाजिक परिचालन कार्यक्रमलाई विस्तार गरी नगरका ११ वटै वडामा सन्चालन गरिएको छ ।
शिक्षा, युवा तथा खेलकुद
- नर्सरी देखि कक्षा ५ सम्मका सबै बालबालिकालाई विद्यालयमा तयार गरिएको नि:शुल्क, स्वच्छ र स्वास्थ्यवर्धक खाजाका लागि संघीय सरकारवाट प्राप्त हुने रकममा नगरबाट प्रति विद्यार्थी रु ५ थप गरी विद्यालयमा दिवा खाजाको व्यवस्थालाई कार्यन्वयनमा ल्याईएको छ । यसै शैक्षिक सत्रको भाद्र महिना देखि सम्पुर्ण विद्यालयमा माध्यमिक तह कक्षा ११ र १२ को पठन-पाठन दिवा सत्रमा संचालनमा ल्याइएको छ ।
आन्तरिक श्रोत तर्फ
- बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक ३०.३३ प्रतिशत खर्च भएको छ ।
- अनौपचारिक महिला विद्यालय शिक्षक र सामुदायिक परिचालकको लागि पारिश्रमिक २७.४७ प्रतिशत खर्च भएको छ ।
- दिवा खाजाका लागि थप (प्रति विद्यार्थी रु ५) १७.६० प्रतिशत खर्च भएको छ ।
- वालि विज्ञान अध्ययन छात्रवृत्तीमा ९७.६६ प्रतिशत रकम खर्च भइसकेको छ ।
संघीय सरकारबाट हस्तान्तरित अनुदान तर्फ
- प्रारम्भिक बाल विकास सहजकर्ताहरुको पारिश्रमिक तथा विद्यालय कर्मचारी व्यबस्थापन अनुदानमा २८.११ प्रतिशत खर्च भएको छ ।
- माध्यमिक तहका स्वीकृत दरवन्दीका शिक्षक, राहत अनुदान शिक्षकको लागि तलब भत्ता अनुदान (प्राविधिक धारका प्रशिक्षक समेत) ३०.१३ प्रतिशत, खर्च भएको छ ।
- तोकिएका विद्यार्थीको दिवा खाजाका लागि विद्यालयलाई दिइने अनुदान २२.४० प्रतिशत खर्च भएको छ ।
- आधारभूत तहका स्वीकृत दरवन्दीका शिक्षक, राहत अनुदान शिक्षकका लागि तलब भत्ता अनुदान (विशेष शिक्षा परिषद अन्तरगतका शिक्षक/कर्मचारीहरु समेत) २८.५४ प्रतिशत खर्च भएको छ ।
- माध्यमिक तह कक्षा (९-१०) मा अंग्रेजी,गणित र विज्ञान विषयमा शिक्षण सहयोग अनुदान तर्फ ३०.७६ प्रतिशत खर्च भएको छ ।
- कोभिड-१९ बाट पुगेको शैक्षिक क्षतिको परिपुरण तथा अन्य विपदको समयमा सिकाइ निरन्तरताका लागि कार्यक्रम ३१.५० प्रतिशत खर्च भएको छ ।
- शैक्षिक पहुँच सुनिश्चितता, अनौपचारिक तथा वैकल्पिक शिक्षा कार्यक्रम (परम्परागत विद्यालय, वैकल्पिक विद्यालय, साक्षरता र निरन्तर शिक्षाका कार्यक्रम समेत ०.५३ प्रतिशत खर्च भएको छ ।
- शिक्षा तर्फ कुल रु. 23 करोड 89 लाख 75 हजार विनियोजन भएकोमा रु. ५ करोड ३२ लाख ६१ हजार ६ सय दश रूपैयाँ खर्च भई सकेको छ ।
- युवा लक्षित तथा खेलकुद कार्यक्रम सन्चालनको लागि तयारी अवस्थामा रहेको छ ।
आर्थिक विकास
कृषि विकास तर्फ
सैनामैना नगरपालिकाको आ.व.२०80/०८1 को वार्षिक स्वीकृत कार्यक्रम अनुसार हाल सम्म कृषि विकास तर्फ भए गरेका कार्यहरुको प्रगती विवरण प्रस्तुत गर्न चाहन्छु ।
१. ५० प्रतिशत अनुदानमा प्लाष्टिक मल्च खेतीका लागि प्लाष्टिक रोल वितरण गरिएको छ । जसबाट २० जना व्यवसायिक किसानहरु लाभान्वित भएका छन ।
२. छैठौ राष्ट्रिय सैनामैना कृषि पर्यटन प्रविधि तथा औधोगिक व्यापार महोत्सवमा कृषि मेला प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ । जसमा ७७ जना कृषकहरु मूल्याङ्कनको आधारमा पुरुस्कृत भएका छन ।
३. ५० प्रतिशत अनुदानमा ८० क्विन्टल उन्नत जातको गहुँको वीउ, ११ क्विन्टल रामपुर लोकल जातको तोरीको उन्नत वीउ, १२ क्विन्टल खजुरा-२ जातको मसुरोको वीउ र २२०० प्याकेट कन्ये च्याउको वीउ वितरण गरिएको छ। जसबाट १२०० जना कृषकहरु लाभाम्भित भएका छन।
४. करेसाबारी ब्यवस्थापनको लागि हिउदे तरकारी सिड किट निशुल्क वितरण कार्यक्रम सम्पन्न भएको छ । जसबाट २२० वटा कृषक समूह, १२ वटा कृषि सहकारी, ४५ वटा कृषि फर्महरु लाभाम्बित भएका छन भने बसन्ते तरकारीको वीउ वितरण गर्ने प्रक्रियामा रहेको छ।
५. आकास्मिक बाली संरक्षण सेवा अन्तर्गत आवश्यकता अनुसार किटनाशक विषादी, ढुशीनाशक विषादी र सुक्ष्म खाद्य तत्त्व निशुल्क वितरण गरिएको छ । जसबाट हाल सम्म करिव ५००० जना लाभांम्बित भएका छन।
६. आलु तथा मसलाबाली भण्डारण ढुवानी सहित कार्यक्रम समपन्न भएको छ जसबाट ७०० बोरा आलु भण्डारण तथा ढुवानीमा सहयोग गरिएको छ।
७. आलु प्रवर्दन कार्यक्रम अन्तरगत १५ विघा जमिनमा आलु खेती गरिएको छ । जसबाट १८० जना कृषक लाभांम्वित भएका छन।
८. ७५ प्रतिशत अनुदानमा साना सिंचाई कार्यक्रमको लागि कृषक समूह र कृषि फर्म मार्फत परेका ३६ वटा आवेदनहरुको अनुगमन भईरहेको छ ।
९. विभिन्न वाली सम्बन्धी मागमा आधारित स्थलगत ११ तालिम मध्ये ४ वटा तालिम सम्पन्न भएको छ र बाँकी तालिम संचालनमा रहेका छन ।
१०. माहुरी पालन व्यवसाय गर्ने कृषकहरुलाई उत्पादनको आधारमा प्रोत्साहन गर्ने कार्यक्रम, फलफुल खेती प्रवर्द्धन कार्यक्रम र मकै बाली खेती प्रवर्दन कार्यक्रम संचालनको लागि सुचना प्रकाशन भईसकेको छ ।
11 हाल सम्म कृषि विकास तर्फ ८१.२५ प्रतिशत भौतिक तथा ६२.३० प्रतिशत वित्तीय प्रगती भईसकेको छ ।
पशु बिकास तर्फ
- यस नगरपालिकाको पशु विकास तर्फ आ.ब.२०८०/०८१ को हालसम्म नश्ल सुधार कार्यक्रम अन्तरगत 1450 पशुहरुमा कृतिम गर्भाधान कार्यक्रम सम्पन्न गरिएको छ भने 10401 पशुहरुमा आन्तरिक वाह्य परजिवी नियन्त्रणको लागि औषधी खरिद गरी वितरण गरिएको छ । जसमा जम्मा रु. 11 लाख 58 हजार भुक्तानी भई सकेको छ ।
- पशु आहारा बिकास कार्यक्रम तर्फ ७५% अनुदानमा १६४० के.जि. बर्सिम घासको बीउ खरिद गरि वितरण गरिएको छ जसबाट २८७ घर परिवार लाभान्वित भएका छन जसमा रु. ७ लाख भुक्तानी भई सकेको छ ।
- ७५% अनुदानमा मत्स्य तथा पशुपन्छी ब्याबसायिक कृषकहरुलाई यान्त्रिकरण अन्तरगत रु.१० लाख वरावरका विधुतीय च्यापकटर- १७ थान, काउम्याट- ५० थान, ब्रसकटर- ११ थान, एरियटर १ थान वितरण गरिएको छ जसबाट ४० जना कृषकहरु लाभान्वित भएका छन ।
- दुध उत्पादनमा आधारित अनुदान कार्यक्रम अन्तरगत ४ वटा सहकारी मार्फत दुध उत्पादन गरि बिक्रि गर्ने ९२२ कृषकलाई रु.१९,९४,०१९/७८ वितरण गर्ने अन्तिम तयारीमा रहेको छ |
- मासु उत्पादनमा आधारित अनुदान कार्यक्रम अन्तरगत 2 वटा सहकारी मार्फत १२६ वटा खसी बोका बिक्रि गर्ने किसानलाई रु. २,१४,८५०|- वितरण गर्ने अन्तिम तयारीमा रहेको छ |
- भुसिया कुकुर नियन्त्रणको लागि खोप तथा बन्ध्याकरण कार्यक्रम अन्तरगत सैनामैना नगरपालिकाको रु.3 लाख 50 हजार लगानीमा नगरपालिका र केन्द्रीय रिफरल पशु चिकित्सालयको साझेदारीमा 188 घरपालुवा र 258 भुसिया कुकुर गरी जम्मा ४४६ कुकुरको वन्ध्याकरण तथा रेविज रोग विरुद्धको खोप लगाउने कार्य सफलता पुर्वक सम्पन्न गरिएको छ ।
भूमिहीन दलित¸ भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीको जग्गा व्यवस्थापन तर्फ
नगर क्षेत्रभित्र लामो समयदेखि बसोवास गर्दै आएका र भुमिको स्वामित्व हाल सम्म प्राप्त गर्न नसकेका भूमिहीन दलित¸ भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीको जग्गा नाँपजाँच तथा जग्गा धनी प्रमाण पुर्जा वितरण गर्ने कार्य यस नगरपालिकाको पहिलो प्राथमिकतामा रहेकोले आवश्यक पर्ने जनशक्ति¸ उपकरण लगायत अन्य सामाग्रीको व्यवस्थापन मिलाइएको छ । साथै हालसम्म अव्यवस्थित बसोवासीको जग्गा नाँपजाँचको उपलव्धि देहाय अनुसार रहेको व्यहोरा अवगत गराउन चाहन्छु ।
अव्यवस्थित बसोवासीको जग्गा नापजाँच कार्यका लागि १ जना टोली प्रमुख सहित ६ जना सर्भेक्षक, ११ जना अमिन, फिल्ड सहयोगी ६ जना र सहयोगी ३ जना रहेका छन् भने वडा नं. १ को पुरै ५०० विगहा, वडा नं. २ मा १२ विगहा (हरियाली टोल र विहानी टोल), वडा नं. ३ को ७.५० विगहा (रामबस्ती टोल), वडा नं. ४ मा ७ विगहा (शिवमन्दिर टोल), वडा नं. ७ मा ३७५ विगहा र वडा नं. ८ मा २३० विगहा नापी कार्य सम्पन्न भई जग्गाधनी प्रमाण पुर्जा वनाउने प्रयोजनका लागि अन्य कार्यहरु अगाडि वढाइएका छन् त्यस्तै वडा नं. ५, ६, ९, १० र ११ को ब्लक निर्माण भई स्वीकृतिका लागि राष्ट्रिय भूमि आयोग जिल्ला समिति रुपन्देही पठाउने कार्य निरन्तर रुपमा अगाडि वढाइएको छ ।
भूमि तथा भवन व्यवस्थापन
- आ.व. २०८०/८१ मा १९० वटा नयाँ नक्सा दर्ता, ८१ वटा अभिलेखीकरण गरी जम्मा २७१ नक्सा दर्ता भएका छन । गत र यस आ.व. मा दर्ता भएका मध्ये ६३ वटा लाई प्लिन्थ लेभल ईजाजत दिइएको छ, ३६ वटालाई सुपर स्ट्रक्चर ईजाजत दिईएको छ भने ९७ वटालाई सम्पन्न प्रमाणपत्र र ५० वटालाई अभिलेखीकरण प्रमाणपत्र प्रदान गरिएको छ ।
- हाल सम्म घर नक्सा तर्फ रु १४ लाख ५ हजार 7 सय 88 राजस्व आम्दानी भएको छ ।
- सैनामैना नगरपालिका अन्तर्गतका साविक देखि दर्ता भएका र सम्पन्न भएका घर नक्साहरुको डिजिटाईजेसन तर्फ २५०० नक्सा डिजिटाईज भई सकेका छन भने थप ३५०० नक्सा फाईल डिजिटाईजेसनको लागि संस्था संग सम्झौता गर्ने कार्य अगाडि बढाईएको छ ।
योजना तथा पूर्वाधार विकास तर्फ
- सैनामैना नगरपालिकाको तेह्रौं नगरसभाबाट स्वीकृत भइ कार्यान्वयनमा ल्याउने योजना, संघीय सरकार सशर्त तर्फ कार्यान्वयन गरिने योजना, संघीय सरकार समपुरक तथा विशेष अनुदानबाट सञ्चालन गरिने योजना, प्रदेश सरकार सशर्त तर्फ कार्यान्वयन गरिने योजना, प्रदेश सरकार समानिकरण तथा विशेष अनुदानबाट कार्यान्वयन गरिने योजना गरी कूल २37 योजना सञ्चालन गर्ने गरी योजना तथा पूर्वाधारतर्फको कार्य भइरहेको छ । जसमा वडा स्तरीय १८०, नगर स्तरीय ३६, प्रदेश स्तरीय १0 र संघीय ११ योजनामा बजेट बिनियोजन भएको छ । उक्त योजना मध्ये उपभोक्ता समितिबाट 219 र ठेक्का प्रकृयाबाट १८ योजना सञ्चालन गर्ने लक्ष्य रहेको छ ।
- स्वीकृत योजना मध्ये उपभोक्ता समितिबाट सञ्चालन गरिने 219 योजना मध्ये १48 योजनाको सम्झौता भएको र 71 योजना सम्झौताको चरणमा रहेका छन भने ३५ वटा योजना सम्पन्न भएका र १३ ओटा योजनाको भुक्तानी समेत भइसकेको छ । ठेक्का प्रकृयाबाट सञ्चालन गरिने १८ योजना मध्ये १५ योजना सम्झौता भइसकेका र ३ ओटा योजना सम्झौता हुन बाँकी रहेका छन् ।
- संघीय समानीकरण अनुदान तर्फ गत आ.व. मा निर्माण भइ सम्पन्न भएका र रकम कम निकाशा भएको कारणले भुक्तानी हुन नसकेका 12 वटा योजनको अन्तिम भुक्तानी भइसकेको छ ।
- नगरको गौरवको रुपमा रहेको एकला पहाडमा निर्माण गरिने फोहोरमैला प्रशोधन केन्द्र निर्माण गर्न वर्षेनी संघीय सरकारबाट विशेष अनुदान प्राप्त भए तापनि जग्गाको भोगाधिकारको लागि नगरपालिकाबाट तदारुकताका साथ कार्य अगाडि वढाईएको छ ।
- एसियाली विकास वैंकको सहयोगमा नेपाल सरकार, नगर विकास कोष र नगरपालिकाको सह लगानीमा २ अर्वको सैनामैना चक्रपथको वाकीँ खण्डका निम्ति एसियाली विकास वैंकबाट सैनामैना नगरपालिकाका लागि अनुदान स्वीकृत भएको र सम्झौताको लागि तयारी भैरहेको छ ।
- १ नगर- १ आधारभुत अस्पताल अन्तर्गत नेपाल सरकारको सशर्त अनुदानवाट निर्माणाधीन १५ सैयाको सैनामैना नगर अस्पताल निर्माण सम्पन्न भएको छ ।
- पश्चिमको पशुपतिनाथ भनी चिनारी रहेको र नेपाल सरकारबाट हुलाक टिकट समेत प्रकाशित भई सकेको पर्रोहा पर्मेश्वर वोलवम धाम मन्दिर पुरातात्विक प्यागोडा शैलीमा निर्माण सम्पन्न भएको र संघीय सरकारबाट प्राप्त हुनु पर्ने रु. 99 लाख प्राप्त नभएकोले भुक्तानी हुन वाँकी रहेको छ ।
- कृषि उत्पादनलाई लामो समय सम्मका लागि भण्डारणका निम्ति करिव ३५० मेट्रिक टन क्षमताको चिस्यान भण्डार (Cold Store) निर्माण सम्पन्न भएको Testing को कार्य बाकीँ रहेको र चालु आ.व मा थप पर्खाल, Guard House, प्रशासनिक भवन, शौचालय, Paving लगाएतका कार्यको ठेक्का प्रक्रियामा रहेको छ।
- सैनामैना २ रिङरोड देखि बोलबम पार्क जाने फुटपाथ सहित अस्फाल्ट प्रविधिबाट (HillRoad) सडक कालोपत्रे र आवश्यक स्थानमा रिटेनिङ वाल लगायतका स्ट्रक्चर सहित थप निर्माण कार्यको ठेक्का भई निर्माण भइरहेको छ ।
- मुल प्रशासनिक भवन परिसरमा सुन्दर विरुवा, दुबो सहितको हरियाली प्रर्वधन भएको, वडा नं १, ३, ४, ५, ६, ८, ९ र ११ को वडा कार्यालय भवनमा थप पुर्वाधार निर्माण भइरहेको छ ।
- उज्यालो नमुना गाउँ कार्यक्रम अन्तर्गत इन्टरलक टायल विच्छाई नाली र सडकवत्ती सहित वडा नं १ को पर्रोहा गाँउ, वडा नं ३ को पर्सावाल गाउँ, वडा नं ४ को रन्यौरा, लेडुवा गाउँ, झारवैरा गाउँ र लखनपारा गाउँ, वडा नं ५ को पोखरभिडवा गाउँ, वडा नं ६ को दुधराक्ष गाउँ, वडा नं ८ को भड्सा गाउँ र वडा नं ११ ताली र विचवापुर गाउँमा सडक पुर्वाधार निर्माण सुरु भइरहेको छ ।
- वडा नं ५, ७, १० र ११ मा सडक कालोपत्रे कार्य भइरहेको, हाटबजार निर्माण कार्य भइरहेको र सडक वोर्डबाट विनियोजित बजेटमा नगरपालिकाबाट थप लगानी भई सडक मर्मत तथा स्तरउन्नतको ठेक्का आह्वान गरिएको छ ।
- मुर्गियामा राष्ट्रिय स्तरको रङ्गशाला निर्माण कार्य अन्तर्गत स्टेडियम प्यारापेटको फ्रेम स्ट्रक्चर र सडक निर्माण सम्पन्न भएको र हाल प्यारापेटको Roofingर Landscaping तथा फिनिसिङ् (Seating Chairs, A.C., Painting, Tiles and Marble, Paving etc ) थप निर्माण कार्य अगाडि बढेको छ।भने सैनामैना पार्क निर्माणका लागि ठेक्का प्रकृयामा रहेको छ ।
- सैनामैना वडा नं. 3 पुर्वी गंगानगर र वडा नं. ७ चक्रपथ तथा जग्गुटोलमा पुल निर्माण भै रहेको छ भने वडा नं. 8 इगुरिया नदीमा पुल निर्माण सम्पन्न हुने अवस्थामा रहेको छ ।
- नदीजन्य पदार्थ उत्खनन् तयारीका निम्ति वातावरणीय अध्ययन कार्य भईरहेको छ ।
- चालु आ.व.मा सन्चालित योजना हरुमध्ये 2574 मिटर सडक कालोपत्रेको लक्ष्य लिईएकोमा ठेक्का भइ निर्माणाधिन रहेको छ ।त्यसै गरी 10045 मिटर स्तरोन्नति गर्ने लक्ष्य लिईएकोमा हाल सम्म 4250 मिटर सडक स्तरोन्नति भैसकेको छ ।
- 6007 मिटर नाली निर्माण गर्ने लक्ष लिएकोमा 3१25 मिटर नालि निर्माण भएको छ । 165 मिटर रिटेनिङ्ग वाल निर्माण गर्ने लक्ष लिएकोमा हाल सम्म 60 मिटर सम्पन्न भइ सकेको छ ।विधुत पोल तर्फ 197 पोल गाड्ने लक्ष लिएकोमा हाल सम्म 50 वटा विधुत पोल गाड्ने काम सम्पन्न भएको छ भने सडक मर्मत तर्फ 1500 मिटर सडक मर्मत गरिएको छ । विधुत प्राधिकरण संगको समन्वयमा यस नगरपालिकाको लागि आवश्यक पर्ने विधुत ट्रान्सफर्मर र विधुत पोल तथा तारको व्यवस्था मिलाईएको छ ।
- सैनामैना नगरपालिका अन्तरगत हालसम्म १, ३, ४, ५, ६, ७, ९, १० र ११ नं. वडाको सेवा प्रवाह आफ्नै भवनबाट सन्चालन गरिएको छ भने वडा नं. 2 र 8 मा समेत यसै आ व मा कार्य सम्पन्न गरी आफ्नै भवनबाट सेवा प्रवाह गर्ने लक्ष लिएको छ ।
- यस सैनामैना नगरपालिकाबाट प्रदान गरिने सेवाहरुलाई विकेन्द्रीकृत गरि सम्वन्धीत वडा कार्यालयबाट सन्चालन गरि सेवालाई चुस्त दुरुस्त, भरपर्दो , पारदर्शि, सर्वसुलभ एवम प्रबिधीमैत्री वनार्ई सेवाप्रवाह गर्ने उद्देश्यका साथ यस नगरपालिकाको कार्यालय, विषयगत शाखा र वडा कार्यालयहरुमा फर्निचर कम्प्युटर, सफ्टवयेर प्रविधि लगायत दैनिक कार्यालय संचालनको लागि आवश्यक सामाग्री लगायतको व्यवस्था मिलाई नियमित सेवाप्रवाह सुचारु हुदै आएको छ ।
- नेपाल सरकारले जारी गरेका ऐन नियम निर्देशिका तथा यस नगरपालिकावाट निर्मित कानुनको परिधिभित्र रही सार्वजनीक खरिदका विभिन्न प्रक्रियाहरुवाट यस कार्यालयका लागि आवश्यक खरिद सम्वन्धी कार्यहरुलाई सिमित साधन स्रोत र जनशक्तीको वावजुद चुस्त दुरुस्त पारदर्शी एवं प्रभावकारी रुपमा संचालन गरिदै आएको छ । खरिदको शिलसिलामा विभिन्न कठिनाइहरु रहे तापनि खरिदको प्रकुती अनुसार सामान्य सेवालाई तत्काल विषेश एवं जटिल प्रकारका प्रकृयागत खरिदलाई खरिदको नियम अनुसार अगाडि बढाईएको छ । हाल सम्म स्टेशनरी, सरसफाइ, कृषी विकास, पशु विकास, स्वास्थ्य, छपाइ, नगरपालिका थप पूर्वाधार एवं हरियाली, फर्निचर तथा कम्प्यूटर सामाग्री तर्फ रू ९२,५१,६६५ रूपैँयाको खरीद कार्य सम्पन्न भएको छ ।
- नगरपालिकाकाबाट राजश्व संकलन, पञ्जीकरण, सामाजिक सुरक्षा लगायतका विवध विषयहरू अनलाइन तथा सफ्टवेयर मार्फत सञ्चालन भएका छन । नगरपालिकाको आफ्नै सरभर जडान गरी डाटा व्यवस्थापन मिलाइएको छ । यस आर्थिक वर्षमा २४९२ घरहरूमा डिजिटल हाउस नम्मरिङ्ग गर्ने लक्ष लिइएकोमा हाल सम्म १४७१ घरहरूमा डिजिटल हाउस नम्बर जडान कार्य सम्पन्न भएको छ ।
वन,वातावरण तथा विपद व्यवस्थापन
वन वातावरण
सैनामैना नगरपालिका वडा नं. 9 र 11 को सीमा क्षेत्र पिपलडाडामा सार्वजनिक निजी साझेदारीको प्रकृयाबाट अस्थायी रुपमा फोहरमैला व्यवस्थापन भइ रहेकोमा उक्त कार्यलाई प्रभावकारी वनाउन र स्थानीयवासीको माग समेतलाई सम्वोधन गर्ने गरी फोहर पुर्नका लागि स्थानिय टोल विकास संस्था मार्फत कार्य भै रहेको छ ।
2080 श्रावण 6गते वि पि स्मृति दिवसको अवसरमा वडा नं. 6 को शहीद नारायण पोख्रेल रामापुर क्याम्पसको प्राङ्गणमा 300 र 7 गते पुष्पलाल स्मृति दिवसको अवसरमा वडा नं. 5 को वक्सड डाँडामा 300 गरी 600 बृक्षारोपण तथा विद्यालय क्षेत्र, सडक किनारा, मन्दिर परिसर तथा सार्वजनिक स्थलमा वृक्षारोपण कार्य सम्पन्न गरिएको छ ।
विपद् व्यवस्थापन तर्फ
- आ.व. 080/81 मा विपद् व्यवस्थापनका लागि रु ४० लाख विनियोजन गरिएकोमा हाल सम्म १४ जनाको लागि रु १ लाख ७० हजार राहत वितरण गरिएको छ ।१० ओटा विपद् प्रभावित आपतकालीन आयोजना सञ्चालनमा ल्याइएको छ र उक्त कार्यको लागि विपद् प्रतिकार्य आयोजनामा रु ८ लाख ५ हजार विनियोजन गरिएको छ ।
- जाजरकोट भुकम्प प्रभावित क्षेत्रमा करिव १३ लाख ५० हजार बराबरको खाद्यान्न तथा कपडाहरु सहयोग गरिएको छ ।
- घमाहा र पहिला नदीमा Over deposit भएर रहेको नदीजन्य पदार्थ उत्खनन् गरी Channelized गर्ने कार्यमा तयारी भैरहेको र जिल्ला विपद् व्यवस्थापन समितिबाट निकासिको लागि निर्णय समेत भइसकेको छ ।
- शहरी पुर्वतयारी तथा आपतकालीन प्रतिकार्ययोजना (SUPER) ; A Swiss Red Cross Project सञ्चालनको लागि परियोजनाबाट रु २ करोड र नगरपालिकाबाट रु ५२ लाख व्यहोर्ने गरी परियोजना र नगरपालिका बीच रु २ करोड ५२ लाखको सम्झौता गरिएकोमा उक्त परियोजनाको समयाबधी ३ वर्ष रहने गरी कार्य अगाडि बढाइएको छ । जस अन्तर्गत वडा विपद् व्यवस्थापन समिति गठन सम्पन्न र अभिमुखिकरण भैरहेको, Volunteer छनौट र Bureau गठन र तालिम सम्पन्न भएको र स्थानीय आपतकालीन केन्द्र गठन तथा पुर्वाधार निर्माणको तयारी भइरहेको र विद्यालयमा जुनियर रेडक्रस गठन भैरहेको छ ।
अन्तर स्थानीय तह विपद् व्यवस्थापन तथा वारुणयन्त्र संचालन तर्फः
चार पालिकाको संयुक्त प्रयास र सहयोगमा संचालित वारुणयन्त्र मार्फत आकस्मिक रुपमा आगलागिबाट हुने मानवीय जनधनको क्षति लगायत जोखिमलाई नियन्त्रण गर्ने क्रममा हालसम्म 25 वटा घटनाहरुको आगो नियन्त्रण गर्ने कार्य सम्पन्न भएका छन् ।
न्याय प्रणाली
- नेपालको संविधान 2072 को धारा 217 बमोजिम सैनामैना नगरपालिकामा गठित न्यायीक समितिलाई क्रियाशिल वनाईएको छ । न्यायीक समितिमा दर्ता भएका निवेदनहरु दुवै पक्षको जित हुने गरी मेलमिलापको माध्यमबाट न्यायीक निरुपण गरिदै आएको छ । न्यायीक निरुपणका लागि मेलमिलाप केन्द्रलाई पुनर्गठन गरी 25 सदस्यीय नगरस्तरीय मेलमिलाप केन्द्र र वडा स्तरमा प्रत्येक वडामा रहने गरी 11 वटा वडा स्तरीय मेलमिलाप केन्द्र पुनर्गठन गरी कार्यन्वयनमा ल्याईएको छ ।नगरस्तर र वडा स्तरमा गरी 123 जना मेलमिलाप कर्ता नगरपालिकामा सूचिकृत गरिएको छ । आ. व. 080/81 मा 29 वटा विवाद दर्ता भएकोमा विगतमा दर्ता भएका र यस आ. व. मा दर्ता भएका मुद्दा मध्ये 6 वटा मिलापत्र 2 वटा निर्णय आदेश 4 वटा तारेखमा र 17 वटा प्रकृयामा रहेका छन ।
राजश्व प्रशासन
- सैनामैना नगर क्षेत्रभित्र रहेका संपूर्ण पेशा एवं व्यवसायीहरुलाई करको दायरामा ल्याउन कार्यपालिका सदस्यज्यूहरु¸ वडा सचिव र कार्यालय सहायक कर्मचारीहरुलाई नगरपालिकाको आर्थिक ऐन 2080¸ व्यवसायकर सम्वन्धी कार्यविधि¸२०७७ र घर बहालकर व्यवस्थापन कार्यविधि¸ २०७७ सम्वन्धी अभिमुखिकरण तालिम सम्पन्न भएका छन् भने राजश्व असुलीलाई तिव्रता दिन सैनामैना नगरपालिकाको राजश्व अनुगमन सम्वन्धी कार्यविधि¸ २०७९ लागु गरिएको छ ।
सुशासन तथा सेवा प्रवाह
- स्थानीय सरकारको काम कारवाहीलाई प्रभावकारी वनाउँदै निर्माण गरिएका ऐन कानूनहरुलाई कार्यान्वयनमा ल्याइ विषयगत क्षेत्रका अत्यावश्यक कानून तर्जुमा गर्ने कार्यलाई निरन्तरता दिइएको छ । सेवाप्रवाहलाई सरलिकृत बनाउन अधिकतम सूचना प्रविधिको प्रयोग गरिएको छ ।
- सुचनाको हक प्रत्याभुत गराउन सुचनाको वर्गिकरण गरी नियमित रुपमा नगरपालिकाको आधिकारिक Website, Facebook Page मार्फत सुचना प्रवाह गरिएको छ ।
- ८० वर्ष माथिका जेष्ठ नागरिक र पूर्ण अपाङ्गता भएका लाभग्राहीहरुलार्इ बैंकमार्फत घरमै भत्ता वितरणको व्यवस्थालाई थप प्रभावकारी बनाईएको छ । सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुको फोटो सहितको विवरण अनलाइन प्रणालीमा अद्यावधिक गरिएको छ ।
- सैनामैना नगरपालिका पञ्जीकरण तथा सामाजिक सुरक्षा तर्फ पूर्ण रुपमा अनलाइन भइसकेको छ ।
- नगरको तथ्याङ्कमा महत्वपूर्ण भूमिका खेल्ने व्यक्तिगत घटना दर्ता तर्फ नगरपालिकामा २०७३ असोज २८ देखि हाल सम्म जन्म दर्ता ११८८३, मृत्यु दर्ता ३२७५, विवाह दर्ता ५२७२, सम्बन्ध बिच्छेद दर्ता ३०५, र बसाइसराई दर्ता ४४६३, गरी जम्मा २५१९८ वटा घटना दर्ता भएका छन् भने यस आ.व. मा जन्म दर्ता ५८७, मृत्यु दर्ता २०३, विवाह दर्ता २५९, सम्बन्ध बिच्छेद दर्ता ४० र बसाइसराई दर्ता १९९ गरी जम्मा १२८८ वटा घटना दर्ता भएका छन् ।
- विभिन्न जिल्लाका स्थानीय तहहरु सँग समन्वय गरी व्यक्तिगत घटना दर्ता तथा डाटा संशोधन गरि 52 जनाको व्यक्तिगत घटना दर्ताको निर्णय गरी प्रतिलिपी जारी गरिएको छ ।
- सामाजिक सुरक्षा तर्फ आ.व. २०८०/०८१ मा पूर्ण रुपमा EFT मार्फत स्वयं लाभग्राही व्यक्तिको खातामा सोझै रकम जम्मा गर्ने व्यवस्था मिलाइएको छ ।यस आ.व. को पहिलो त्रैमासिकमा ज्येष्ठ नागरिक भत्ता अन्य ३८१० जना, ज्येष्ठ नागरिक भत्ता दलित ४०२ जना, ज्येष्ठ नागरिक एकल महिला भत्ता ६३९ जना, बिधवा भत्ता ११८५ जना, पूर्ण अपाङ्गता भत्ता १३९ जना, अति अशक्त अपाङ्गता भत्ता ३५० जना , दलित वालवालिका भत्ता ५१२ जना र लोपोन्मुख जाती भत्ता १२ जना गरी जम्मा ७०२३ जनाको लागि रु ६ करोड ७२ लाख ९३ हजार ५सय ७४ रकम लाभग्राहीको खातामा निकाशा भइ खर्च भएको छ भने दोश्रो त्रैमासिक भत्ता रकम निकाशा प्रकृयामा रहेको छ ।
- सामाजिक सुरक्षा भत्ता वितरणलाई प्रभावकारी बनाउन वडा अध्यक्ष बैंकका कर्मचारी तथा वडा सचिव र अन्य कर्मचारीहरुलाई सामाजिक सुरक्षा भत्ता वितरण प्रकृया सम्बन्धमा अभिमुखीकरण गरिएको छ भने व्यक्तिगत घटना दर्ता सम्बन्धमा जनप्रतिनिध तथा कर्मचारीहरुलाई अभिमुखीकरण भरिएको छ।
- नगरपालिकाका गतिविधिहरु नागरिक समक्ष पुर्याउनका लागि जनता संग जन प्रतिनिधि, हाम्रो सैनामैना राम्रो सैनामैना जस्ता विभिन्न कार्यक्रमहरु सन्चालन गर्न स्थानीय रेडियो तथा टेलिभिजन संग सम्झौता भई कार्यान्वयनमा ल्याईएको छ ।
- सुशासन तथा सेवा प्रवाहलाई उत्तरदायी प्रभावकारी पारदर्शि र जवाफदेही वनाउन सार्वजनिक सुनुवाई सामाजिक परीक्षण वार्षिक समिक्षा जस्ता कार्य सम्पन्न गरिएको छ ।
- संस्थागत क्षमता स्वमुल्याङ्कन कार्य सम्पन्न गरी पृष्ठ पोषण समेत भै आइसकेकोले आ व 079/80 को संस्थागत क्षमता स्व मुल्याङ्कनमा नगर पालिकाले 82.5 अंक प्राप्त गरेको छ ।
- उपभोक्ता समितलाई जवाफदेही वनाउन र योजना सन्चालनमा प्रभावकारीता ल्याउन उपभोक्ता समितका पदाधिकारीहरुलाई तालिम प्रदान गरिएको छ भने प्रत्येक योजनाको योजनास्थलमै सार्वजनिक परीक्षण गर्ने व्यवस्था मिलाईएको छ ।
- उपभोक्ताहरुको हितलाई मध्यनजर राखि गुणस्तरीय उपभोग्यवस्तुहरुको उपयोग र बिक्री वितरण गर्ने कार्यलाई मर्यादित र व्यवस्थित गर्ने तथा दर्ता वा नविकरण नगरी व्यवसाय सन्चालनलाई रोक्नका लागि बजार अनुगमनलाई निरन्तरता दिइएको छ । जस अन्तर्गत 6 पटक बजार अनुगमन गरिएको छ ।
- सहकारी संस्थाहरुको सेवालाई प्रभावकारी वनाउन सहकारीहरुको अनुगमन तथा साधारण सभाको अनुगमन निरन्तर रुपमा गरिएको छ ।
- यस आ.व. 2080/81 मा 1 क्लब, 1 मन्दिर, 1 आमा समुह, 4 अन्य संस्था गरी जम्मा 7 नयाँ संस्था दर्ता गरिएका छन ।
- भु-उपयोग नीति कार्यन्वयन सम्बन्धमा भु-उपयोग परिषदको बैठकबाट जग्गाको बर्गिकरण गर्ने कार्य सम्पन्न नहुदा सम्मको लागि सडकको क्षेत्राधिकार र नामाकरण गरी सार्वजनिक गरिएको छ ।
आ.व. 2080/81 को हाल सम्मको आम्दानी र खर्चको विवरण :
आय तर्फ,
- संघीय सरकार तर्फ वित्तीय समानिकरण अनुदान, सशर्त अनुदान र राजस्व बाँडफाँड गरी रु 56 करोड 33 लाख 48 हजार अनुमान गरेकोमा 16 करोड 75 लाख 96 हजार 2 सय 44 आम्दानी भएको छ ।
- प्रदेश सरकार तर्फ समानिकरण अनुदान, सशर्त अनुदान र राजस्व बाँडफाँड गरी जम्मा रु 5 करोड 47 लाख 54 हजार 774 अनुमान गरेकोमा 1 करोड 54 लाख 95 हजार 69 आम्दानी भएको छ ।
- चालु आर्थिक वर्षमा आन्तरीक स्रोत तर्फ रु 48 करोड 69 लाख 99 हजार (एसियाली विकास वैकको अनुमान समेत) राजस्व अनुमान गरेकोमा हाल सम्म रु. 9 करोड 75 लाख 67 हजार 4 सय 52 राजश्व प्राप्त भई वार्षिक अनुमान गरेको रकमको २0% (प्रतिशत) मात्र राजश्व असुली भएको छ ।
व्यय तर्फ,
- आर्थिक बिकास तर्फ रु 7 करोड 24 लाख 3 हजार 4 सय 36 विनियोजन गरेकोमा हाल सम्म 1 करोड 76 लाख 52 हजार 2 सय वयासी (38 प्रतिशत) खर्च भएको छ ।
- सामाजिक विकास तर्फ रु 36 करोड 10 लाख 42 हजार 5 सय 84 विनियोजन गरेकोमा हाल सम्म 7 करोड 88 लाख 76 हजार 9 सय 70 (85 प्रतिशत) खर्च भएको छ ।
- पुर्वाधार विकास तर्फ 46 करोड 36 लाख 87 हजार 9 सय असी विनियोजन गरेकोमा हाल सम्म १ करोड 37 लाख 52 हजार 4 सय 38 (97 प्रतिशत) खर्च भएको छ ।
- सुशासन तथा अन्तसम्बन्धित क्षेत्रमा 2 करोड 13 लाख 58 हजार रुपैँया विनियोजन गरेकोमा हाल सम्म 17 लाख 33 हजार 1 सय 2 (11 प्रतिशत) खर्च भएको छ ।
- कार्यालय सञ्चालन तथा प्रशासनिक खर्च तर्फ 18 करोड 66 लाख 9 हजार 7 सय 74 विनियोजन गरेकोमा 4 करोड 59 लाख 28 हजार 4 सय 6 (61 प्रतिशत) खर्च भएको छ ।
नगरपालिकाको सभाहलमा भएको कार्यक्रम नगरपालिका उपमेयर विना राना,प्रमुख प्रशासकीय अधिकृत जनक थापा,जनप्रतिनिधी,कर्मचारी पत्रकार,सुरक्षार्की सहभागितामा सो सभा सम्पन्न भएको प्रविधि शाखा प्रमुख अस्मित खड्काले जानकारीले दिए ।