बुटवल । नयाँ वर्षको अवसरमा नेपाल ट्रेड युनियन काँग्रस रुपन्देहीले शुभकामना आदान–प्रदान गरेको छ । नेपाली नयाँ वर्ष २०८१ को अवसरमा बुटवलमा आयोजना गरिएको कार्यक्रममा शुभकामना आदानप्रदान सहित प्रकाशन गरिएको भित्तेपात्रो विमोचन गरिएको हो ।
त्यस अवसरमा बोल्दै नेपाली काँग्रेस रुपन्देहीका सभापति तथा तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँणले श्रमशक्ति नै राष्ट्रिय शक्ति भएकोले मुलुकको विकास र समृद्धिमा मजदुरहरुको उल्लेखनीय योगदान रहने भनाई राख्नुभयो । उहाँले विराटनगरको जुट मिलदेखि सुरु भएको ट्रेड युनियन आन्दोलनमा नेपाली काँग्रेसको ठूलो साथ रहेको स्मरण गर्दै काँग्रेस र ट्रेड युनियन एक रथका दुई पाङ्ग्रा भएको बताउनु भयो ।
उहाँले खस्किदो अर्थतन्त्रका कारण उद्योगी व्यवसायी धाराशायी हुँदा मजदुले रोजगारी समेत गुमाउनु परेको र पारिश्रमिक भुक्तानीमा पनि समस्या भोग्नु परेको बताउँदै त्यसको सहज व्यवस्थापनमा भूमिका खेल्न ट्रेड युनियनलाई आग्रह गर्नुभयो । नयाँ वर्षसंगै मुलुकको अर्थतन्त्र पनि लयमा फर्किने विश्वास व्यक्त गर्दै उहाँले अहिलेको अवस्था विस्तारै सुधार हुँदै जानेमा आशा व्यक्त गर्नुभयो ।
त्यस अवसरमा नेपाल ट्रेड युनियन काँग्रेस लुम्बिनी प्रदेश अध्यक्ष काजिमान श्रेष्ठले सरकार जुन आएपनि श्रमिकहरुको समस्या समाधान र उनीहरुको हकहितको लागि जिम्मेवार नहुँदा समस्या ज्यूकात्यू रहेको बताउनु भयो ।
उहाँले मजदुरले पाउनु पर्ने हक अधिकार र उनीहरुका समस्या समाधानको लागि जस्तोसुकै परिस्थितीको पनि सामना गर्न तयार रहेको बताउँदै कतिपय उद्योग प्रतिष्ठानमा कार्यरत मजदुरलाई उपलब्ध गराउनु पर्ने वेतन तथा सेवा सुविधा लामो समयसम्म पनि प्राप्न भएको र श्रम कार्यालयले न्यायिक निरुपण समेत नगरेकोमा आपत्ति जनाउँदै त्यसमा थप कदम चाल्ने चेतावनी दिनुभयो ।
नेपाल ट्रेड युनियन काँग्रेस रुपन्देहीका अध्यक्ष रामप्रसाद ढकालले औपचारिक तथा अनौपचारिक क्षेत्रका मजदुरलाई संगसंगै अगाडि बढाउनु पर्नेमा जोड दिँदै असंगठित क्षेत्रमा मजदुरहरुलाई संगठित हुनको लागि आग्रह गर्नुभयो । उहाँले त्यसको लागि नेपाल ट्रड युनियन काँग्रेसले गर्नुपर्ने सहयोग गर्न तयार भएको भनाई राख्नुभयो ।
कार्यक्रममा नेपाली काँग्रेस रुपनेदेही क्षेत्र नं. २ का सभापति प्रजापाल गिरी, श्रम तथा रोजगार कार्यालयकी राजकुमारी पन्थी, नेपाल निजामति कर्मचारी युनियनका केन्द्रीय सदस्य नवीन पन्थी, रुपन्देहीका अध्यक्ष चक्रपाणि पाण्डे, आवद्ध संघका श्रमिक नेताहरु विनु पाण्डे, कृष्णमायाँ राना, अनिता केसी लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रम सचिव केशवराज पाण्डेको सञ्चालनमा भएको थियो ।