हेमजामा आइतबारदेखि १२ औं आलु महोत्सव

Ujyalosandeshonline 11020+ समाचार ( )
२४ चैत्र २०८०, शनिबार

पोखरा । आलुको व्यवसायिक खेतीका लागि उर्वर हेमजामा बर्सेनि हुँदै आएको आलु महोत्सव यसपटक आइतबारदेखि सुरु हुँदैछ । १२औं संस्करणको महोत्सवमा ८० टन आलुको कारोबार हुने अनुमान आयोजक विष्णुपादुका क्लवले जनाएको छ ।

महोत्सवको उद्घाटन पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गर्ने कार्यक्रम छ । उक्त अवसरमा क्लबको बहुउद्देश्यीय भवन पनि शिलान्यास गरिने छ । कार्यक्रम उद्घाटनअघि हेमजाको माईस्थानबाट शोभायात्रासहित झाँकी ¥याली प्रदर्शन गरिनेछ ।

मेलामा प्रतिकिलो ४० रुपैयाँमा आलुको कारोबार गरिने महोत्सव मुल आयोजक समितिका संयोजक सुबिन श्रेष्ठले बताए । ‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँ’ भन्ने नाराका साथ महोत्सव गर्न लागिएको हो ।

हेमजालाई व्यवसायिक कृषि क्षेत्रको रुपमा देशविदेशमा चिनाउदै उत्पादक र उपभोक्ताबीचको प्रत्यक्ष सम्पर्क स्थापित गर्ने उद्देश्यले महोत्सव आयोजना हुँदै आएको छ । महोत्सवको आकर्षणका रुपमा आलु तथा ताजा तरकारीको प्रदर्शनी हुनेछ ।  

मेलामा पुग्नेले रैथाने आलुको पहाड देख्न पाउने छन् । आलुका परिकार प्रदर्शन, माटो र बोटबिरुवाको परीक्षण तथा रोगको निदान, कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी, कृषि विज्ञ र किसानबीच अन्तक्र्रिया, विभिन्न कृषि उपज, बिउबिजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी, कृषक सम्मान तथा पुरस्कार, रत्यौली गीत प्रतियोगिता, हाँस्यव्यंग्य एवम् लाइभ कन्सर्ट लगायत मेलाका आकर्षण रहने जनाइएको छ ।

महोत्सव सम्पन्न गर्न करिब ४८ लाख १० हजार खर्च लाग्ने र ४९ लाख ४० हजार आम्दानी हुने अनुमान क्लवको छ ।

हेमजाको कुल १२ हजार ५ सय हेक्टरमध्ये ५ सय ९० हेक्टरमा आलु खेती गरिँदै आएको छ । जसअन्तर्गत त्यहाँका ५ सय ४० घरपरिवार व्यावसायिक आलुखेतीमा आबद्ध छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै