भैरहवा । सशस्त्र प्रहरी बल, नेपाल नं. ५ बिन्ध्यावासिनी बाहिनी मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) अभिकुमार खत्रीले आमनागरिकलाई साथमा लिएर कार्यसम्पादनलाई थप उत्कृष्ट बनाउँदै लैजाने बताएका छन् ।
सशस्त्रका हरेक गतिविधिमा अहिलेसम्म आमनागरिकको साथ र सहयोग पाइरहेको उल्लेख गर्दै उनले आउँदा दिनमा पनि सबैको सहकार्यमा कार्यसम्पादनलाई प्रधावकारी बनाउने उल्लेख गरे ।
सशस्त्र प्रहरी बल, नेपाल नं. २७ गण हे.क्वा., रुपन्देहीको १७ औं स्थापना दिवसको अवसरमा आइतबार आयोजित विशेष समारोहमा बोल्दै डीआईजी खत्रीले भने, ‘हामीलाई नागरिकको साथ र सहयोग अपरिहार्य हुन्छ । नागरिकको कुनै पनि साथ र सहयोग नभए हाम्रो उपस्थिति अथवा हाम्रो कार्यसम्पादनले खासै अर्थ राख्दैन । त्यसैले हामीसँग हातेमालो गरेर अघि बढ्न सबैमा आग्रह गर्छु । सशस्त्र प्रहरी आमनागरिकसँगै साथमा छ ।’
उनले नागरिकले तिरेको करबाट संकलित राजस्व (उठेको रकम) बाट सेवा लिएर सेवा प्रदान गरिरहेकाले सबै नागरिकप्रति जवाफदेही हुने विश्वास दिलाए । ‘हामीले लगाउने पोशाक र हामीसँग भएका साधनस्रोत सम्पूर्णमा आम नागरिकको योगदान र लगानी छ । त्यसैले सशस्त्र प्रहरी कर्मचारीहरु यो कुरा गम्भिरताका साथ बुझ्नुपर्छ ।’ उनले नं. २७ गणबाट अहिलेसम्म राम्रो कार्यसम्पादन भएको भन्दै अझ उत्कृष्ट कार्य गर्दै जान आग्रह गरे ।
आफ्नो कर्तव्यमा अनुशासित, लगनशील र मिहिनेतका साथ कार्य गर्न उनले मातहत सशस्त्र प्रहरी कर्मचारीलाई निर्देश्न दिए । डीआईजी खत्रीले आगामी दिनमा पनि सबैको साथ, सहयोग र सहकार्यको अपेक्षा गर्दै निरन्तर नागरिकसँग रहने विश्वास दिलाए । ‘आजसम्म सबैको साथ सहयोगले यो गणले यहाँहरुको अपेक्षाअनुसार कार्यसम्पादन गरेको मैले महसुस गरेको छु । यसलाई अझै राम्रो बनाउँदै जानेछौं’, उनले भने ।
सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले शान्ति सुरक्षा कायम राख्न सशस्त्र प्रहरी बलको योगदान महत्वपूर्ण रहेको उल्लेख गरे । ‘रातदिन नभनी सशस्त्र सीमाको रक्षाका लागि खटिएको छ । यसका साथै आमनागरिकको सेवा र सुरक्षामा पनि उस्तै योगदान छ’, उनले भने । खाँले अझै पनि सशस्त्र प्रहरी साधनस्रोत सम्पन्न हुन नसकेको भन्दै सरकारले साधनस्रोत सम्पन्न बनाउनुपर्नेमा जोड दिए । स्थानीय तहले गर्न पर्ने सबै किसिमका सहयोग र सहकार्य गर्ने उनको भनाई छ ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सीमा क्षेत्रमा सशस्त्र प्रहरीले गर्दै आएको योगदान उत्कृष्ट रहेको बताए । उनले आगामी दिनमा पनि उत्कृष्ट कार्यसम्पादन गर्न आग्रह गरे । ‘राज्यले यहाँहरुको उत्कृष्ट कार्यसम्पादन र भूमिकालाई सम्मान गरेको छ । यो संस्थाले आफूलाई अब्बल सावित गरेको छ । आउँदा दिनमा अझै प्रभावकारी काम गर्नुपर्छ’, उनले भने ।
सशस्त्र प्रहरी बल, नेपाल नं.२७ गण हे.क्वा.रुपन्देहीका सशस्त्र प्रहरी उपरीक्षक गणपति (एसपी) आनन्द थापा मगरले संगठनको क्रियाशिलतामा आगामी दिनमा पनि कुनै कमी आउन नदिने दृढता व्यक्त गरे । ‘हामी आजको रात जागे भने मात्र नागरिक ढुक्कसँग सुत्न पाउँछन् भन्ने मान्यताका साथ अघि बढेको छौं । नागरिकमा आउने हासो र छाउने खुसी नै हामी अमूल्य सम्पत्तिको रुपमा लिएका छौं’, उनले भने ।
वार्षिकोत्सव समारोहका अवसरमा आयोजित विभिन्न प्रतियोगितामा विजयी सशस्त्र प्रहरी कर्मचारीहरु, उत्कृष्ट कार्य गर्ने र शहीद परिवार तथा यो वर्ष गणबाट अवकाश प्राप्त हुने सशस्त्र प्रहरी कर्मचारीलाई पुरस्कार तथा सम्मान गरिएको थियो ।