भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका अन्र्तगत सिद्धार्थ राजमार्गमा लगाइएका फुल तथा बोटविरुवाहरु भाँच्ने, उखाल्ने लगायत गतिविधि भएपछि सिद्धार्थनगरले त्यस्ता गतिविधी गर्ने व्यक्तिबारे सूचना दिए पुरस्कारको प्रदान गर्ने जनाएको छ।
सिद्धार्थनगर नगरपालिकाको मेयरमा इश्तियाक अहमद खाँ निर्वाचित भएपछि उनले नगरलाई ‘क्लिन’, ‘ग्रिन’ एण्ड ‘इको फ्रेन्डली सिटी’को रुपमा विकास गर्नका लागि विभिन्न योजना अघि बढाएका छन् । जसअन्र्तगत राजमार्गसहित नगर क्षेत्रमा विभिन्न प्रजातिका फुल, बोटविरुवा लगाइएको छ ।
लगाइएका फुलहरु फुलेपछि नगर क्षेत्र सुन्दर देखिन थालेको छ भने रुखका विरुवा हुर्किदा हरियाली भएको छ। तर, केही दिनदेखि रातीको समयमा अज्ञात व्यक्तिद्धारा लगाइएका फुल तथा बोटविरुवा भाँच्ने, जरैबाट उखालेर फाल्ने जस्ता गतिविधी भएपछि नगरपालिकाले त्यस्ता गतिविधी गर्ने व्यक्तिलाई कारवाही गर्नका लागि सर्वसाधरणबाट सूचना अपेक्षा गर्दै सूचना जारी गरेको छ ।
‘हामीले सुन्दर नगर बनाउने योजनाहरु अनुरुप नगर क्षेत्रमा फुल तथा बोटविरुवारहरु लगाएका छौँ, ती हुर्किएर हरित र सुन्दर पनि देखिएका छन्’,सिद्धार्थनगर नगरपालिकाका मेयर इश्तियाक अहमद खाँले भने, ‘तर, केही दिनदेखि अपरिचित व्यक्तिले फुल तथा बोटविरुवा भाँच्ने, उखालेर सडकमा फाल्ने गतिविधी गरिरहेका छन्, जुन हामी नगरवासीको लागि राम्रो होईन।’ उनले त्यस्ता गतिविधी गर्ने व्यक्तिको पहिचान भएमा कडा करवाही गरिने बताए ।
सिद्धार्थनगर नगरपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले नगर क्षेत्रमा लगाइएको फुल, बोटविरुवा भाँच्ने, उखाल्ने, तोड्ने जस्ता गतिविधी गर्नेलाई कानुन बमोजिम दण्डित गर्नुपर्ने भएकोले नगरवासीबाट सूचनाको अपेक्षा गर्दै कार्यालयबाट सूचना जारी गरिएको बताए।
फुल, बोटविरुवा भाँच्ने, उखाल्ने, तोड्ने जस्ता गतिविधी गर्ने व्यक्तिलाई देख्ने, सुन्ने भएपनि मुद्दा चल्ने भएकोले देख्ने, सुन्ने भएपनि कार्यालयमा सूचित गर्न उनले आग्रह गरे ।
कार्यालयले आइतबार जारी गरेको सूचनामा भनिएको छ– ‘केही दिन अगाडीदेखि रातीको समयमा राजमार्गमा रहेका फुल तथा बोट बिरुवाहरु भाँचिदिने र सार्वजनिक सम्पत्ति तोडफोड गर्ने जस्ता अनैतिक किसिमका व्यवहार प्रदर्शन गरिएको हुँदा त्यस्ता गतिविधि गर्ने व्यक्तिहरुलाई कानून बमोजिम दण्डित गर्नु पर्ने भएकोले त्यस्ता अनैतिक किसिमका गतिविधि गरेको देख्ने वा सूचित गर्ने व्यक्तिलाई नगरपालिकाद्वारा नगद पुरस्कारको व्यवस्था गरिएको छ ।’ कार्यालयले सूचनामा नगद पुरस्कारको रकम खुलाएको छैन भने सूचना दिने व्यक्तिको नाम र ठेगाना गोप्य राखिने जनाएको छ।