गौर । जिल्ला प्रहरी कार्यालय रौतहटले स्रोत नखुलेको ११ लाख ४७ हजार रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको सिम्रौनगढ नगरपालिका-११ भगवानपुर बस्ने ३६ वर्षीय मुना प्रसाद जयसवाल रहेका छन् । इलाका प्रहरी कार्यालय मौलापुरको टोलीले मौलापुर नगरपालिका-३ लाल बकैया बाँधस्थित सडकखण्डमा चेकजाँच गर्ने क्रममा उक्त रकम बरामद गरेको हो ।
जयसवालले चलाएको मधेश प्रदेश ०३-०३३ प.३११० नम्बरको मोटरसाइकलको लेगार्डमा रहेको झोलाभित्र लुकाइछिपाई ल्याइएको अवस्थामा १ हजार दरका ८३३ थान, ५०० दरका ६२५ थान र १०० दरका १५ थान गरी कुल ११ लाख ४७ हजार नेपाली रुपैयाँ फेला परेको थियो । बरामद रकमको स्रोत खुलाउन नसकेपछि जयसवाललाई रकम र मोटरसाइकलसहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवं डिएसपी विष्णु प्रदीप बस्यालले जानकारी दिएका छन् ।