भैरहवा । रुपन्देहीको मायादेवी गाउँपालिकामा बिरामी अवस्थामा ओछ्यानमै दिसा गरेको निहुँमा आफ्नै भाइ र बहिनीसहित तीन जना मिलेर कुटपिट गर्दा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतको सराबस्ती थाना भिगां–९ घर भई हाल रुपन्देहीको मायादेवी गाउँपालिका वडा नं. ६ दुर्गोलिया स्थित साहु ईट्टा भट्टामा काम गर्ने २० वर्षीय छोटुराम हरिजन रहेका छन् ।
प्रहरीका अनुसार, गत पुस ८ गते साँझ छोटुराम बिरामी भएको अवस्थामा सुत्ने बिस्तरा तथा पाईन्टमा नै दिसा गरेको कारण विवाद भएको थियो। सोही विषयलाई लिएर निजका भाइ शिव शंकर, बहिनी पतर्की भन्ने शायजहा र अर्का व्यक्ति सिराज कसगरले कुटपिट गरेका थिए । कुटपिटबाट गम्भीर घाइते भएका छोटुरामलाई उपचारका लागि भीम अस्पताल भैरहवा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले मृतकका १८ वर्षीय भाइ शिव शंकर, २० वर्षीया बहिनी शायजहा र सोही स्थानमा बस्ने ३५ वर्षीय सिराज कसगरलाई पक्राउ गरेको छ । पक्राउ परेकाहरु उपर कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) सुरज कार्कीले जानकारी दिए । रुपन्देही प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक (एसपी) प्रदिप बहादुर क्षेत्रीले अपराध नियन्त्रण र शान्ति सुरक्षाका लागि प्रहरीले निगरानी बढाएको बताएका छन् ।