जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले चौरचन पर्व र गणेश चतुर्थी पर्वको पावन अवसरमा देश–विदेशमा रहनुभएका सम्पूर्ण प्रदेशवासी दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।
मुख्यमन्त्री सिंहले चौरचन पर्वलाई भक्तिभाव र संस्कृतिको गहिरो सम्बन्धसँगै सांस्कृतिक पहिचानको रूपमा चित्रण गर्दै यस पर्वले एकता, आपसी सद्भाव र पारिवारिक आत्मीयतामा बाँध्ने माध्यमका रूपमा कार्य गरेको बताउनुभएको छ ।
त्यसैगरी, उहाँले गणेश चतुर्थी पर्वले विघ्नहर्ता भगवान् गणेशप्रति आस्था जागृत गर्दै जीवनमा आउने चुनौतीहरूलाई धैर्य, बुद्धि र सकारात्मक ऊर्जा द्वारा पार गर्न प्रेरणा दिने विश्वास व्यक्त गर्नुभएको छ ।
“ यो दुवै पर्वले दिएको शान्ति, सद्भाव, श्रद्धा र समर्पणको सन्देश हाम्रो समाजलाई अझ सबल, समृद्ध र उन्नत बनाउन सधैं मार्गदर्शक हुनेछन्,” मुख्यमन्त्री सिंहले आफ्नो शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ । सन्देशमा उहाँले भगवान् चन्द्रदेव र भगवान् गणेशको कृपाले सबैमा स्वास्थ्य, समृद्धि, दिर्घायु, आपसी प्रेम र प्रगतिका उज्याला मार्गहरू प्रशस्त होस् भन्ने मंगलकामना पनि व्यक्त गर्नुभएको छ ।