भैरहवा । भारतबाट अवैधरूपमा भन्सार छली ल्याउँदै गरिएको ठूलो परिमाणको सुनका गरगहनासहित एक महिला रुपन्देहीको सिद्धार्थनगरबाट पक्राउ परेकी छन्।
सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हेडक्वार्टर डण्डा रुपन्देहीका सशस्त्र प्रहरी नायव उपरीक्षक गोपि कृष्ण भट्टराईको कमाण्डमा खटिएको टोली र ईलाका प्रहरी कार्यालय बेलहियाको संयुक्त टोलीले सिद्धार्थनगर नगरपालिका–१ शान्तिगेट चेकप्वाइन्टबाट काठमाडौँ महानगरपालिका–१९ निवासी ४६ वर्षीया ईला पटेललाई नियन्त्रणमा लिएको हो।
विशेष सुराकीका आधारमा जाँच गर्ने क्रममा उनको साथबाट दुई किलो ६०५ ग्राम तौल बराबरका विभिन्न प्रकारका सुन जस्ता देखिने पहेँलो धातुका गहनाहरू बरामद गरिएको थियो। पक्राउ परेकी महिला र गहनालाई थप परीक्षणका लागि सिद्धार्थनगर सुनचाँदी व्यवसायी संघमा पठाइएकामा संघले ती धातुमध्ये एक किलोग्राम शुद्ध सुन रहेको र त्यसको बजार मूल्य रु दुई करोड ५१ लाख ९३ हजार ३५० कायम भएको पुष्टि गरेको छ।
बरामद गरगहना परीक्षण रिपोर्ट तथा आवश्यक कानुनी कारबाहीका लागि भैरहवा भन्सार कार्यालय रुपन्देहीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।