दाङ । दाङ क्रिकेट लिग (डीसीएल)को दोस्रो संस्करण अगामी फागुनमा हुने भएको छ । दाङ क्रिकेट संघले सोमबार घोराहीमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता फागुन २६ गतेदेखि हुने जानकारी गराएको हो । दाङ क्रिकेट लिग लुम्बिनी प्रदेशकै ठूलो राशिको फ्रेन्चाइज लिग रहेको संघका अध्यक्ष प्रदीप मजगैयाँले बताए ।
उनका अनुसार प्रतियोगिता खेल्ने टिमहरूले अक्सनमार्फत खेलाडीहरू खरिद गर्नुपर्ने व्यवस्था गरिएको छ ।
लिगमा देशभरका सयभन्दा बढी खेलाडीलाई म्याच शुल्कसहितको क्रिकेट प्रतियोगिता खेल्ने अवसर प्रदान गरेको उनले बताए । प्रतियोगिताका लागि प्रत्येक टिमले पाँच जनासम्म राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीसहित दाङ जिल्ला भित्रका यु–१६ का २ जना, यु–१९ का २ जना र सिनियर ५ जनासहित १४ जनाको टिम बनाउनुपर्ने व्यवस्था गरिएको छ ।
जसमा १२ जना खेलाडी अक्सनमार्फत छनोट हुनेछन् भने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल खेलिसकेका एक–एक जना मर्की र टिम कप्तानका रूपमा टिम मालिकहरूले अधिकतम मूल्यमा आफैं छनोट गर्न पाउने व्यवस्था गरिएको प्रतियोगिताका संयोजक संघका सचिव सज्नु केसीले जानकारी दिए ।
प्रतियोगिताका लागि आयोजकले टिम मालिकहरूलाई खेलाडी खरिदका लागि न्यूनतम १ लाख ९४ हजारदेखि अधिकतम २ लाख ५० हजारसम्म रुपैयाँसम्म खर्च गर्न सक्ने व्यवस्था गरेको उनले बताए ।
लिगका विजेताले नगद २ लाख ५० हजार र उपविजेताले १ लाख रुपैयाँसहित शिल्ड, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसैगरी लिगमा सबैभन्दा बढी रन बनाउने, बढी विकेट लिने र उदीयमान खेलाडीलाई समान १०÷१० हजार, म्यान अफ द सिरिजलाई १५ हजार, म्यान अफ द म्याचलाई ५ हजार रुपैयाँ नगद प्रदान गरिने आयोजकले जनाएको छ ।
अघिल्लो संस्करणमा प्रत्येक टिममा दाङका १६ वर्ष मुनिका २ जना, १९ वर्ष मुनिका दुई जना र सिनियर खेलाडीको हकमा कप्तानसहित ६ जना रहने व्यवस्था गरिएको थियो ।
त्यस्तै लुम्बिनी प्रदेशबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी २ जना र नेपालभरबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी २ जना गरी १४ जना खेलाडीको टिम बनाइएको थियो । हरेक टिमका खरिद गर्दा न्यूनतम ८४ हजारदेखि अधिकतम १ लाख ४८ हजार रुपैयाँ खर्च गर्न सक्ने सीमा तोकिएको भए पनि अहिले यसको दायरा बढाइएको छ ।
प्रतियोगितामा सहभागिताका लागि स्थानीयदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा नाम चलिसकेका खेलाडीहरूले नाम दर्ता गर्नका लागि समय तोकिने भएको छ । यसका लागि आयोजकले चाँडै निर्णय गरेर फ्रेन्चाइजहरुमार्फत फाराम खुलाउने तयारी गरेको जनाएको छ ।
लिगमा साबिककै घोराही टाइगर्स, दंगाली लायन्स, तुलसीपुर रोयल्स, पुरन्धारा च्यालेन्जर्स र देउखुरी वारीयर्स गरी पाँच वटा फ्रेन्चाइज टिमहरू सहभागी हुनेछन् । पहिलो संस्करणको दाङ क्रिकेट लिगको उपाधि घोराही टाइगर्सले जितेको थियो ।