भैरहवा । लुम्बिनीको पडरीयामा सम्पन्न भएको ईण्डो–नेपाल क्रिकेट प्रतियोगिताको उपाधि बिजेता लुम्बिनी नवयुवा क्लबलाई जनता समाजवादी पार्टी नेपाल, रुपन्देहीले सम्मान गरेको छ । बिहिबार तेनुहवा सामदायिक अध्ययन केन्द्रमा एक कार्यक्रमको आयोजना गरि जनता समाजवादी पार्टीको जिल्ला कार्यसमितिले बिजयी खेलाडीलाई नगद सहित तथा आयोजकलाई सम्मान गरेको हो ।
सम्मान कार्यक्रममा बोल्दै जनता समाजवादी पार्टी जिल्ला कार्यसमितिका अध्यक्ष सियाराम यादवले यस क्षेत्रकै प्रतिष्ठित प्रतियोगितामा पहिलो पटक भारतीय टोलीलाई हराउदै नेपाली क्रिकेट टोली प्रथम भएकोमा खुशी ब्यक्त गरे । उनले नेपालमा क्रिकेट खेलाडीहरुको उर्बरस्थल ग्रामीण क्षेत्र भएकोले सरकारले ग्रामीण क्षेत्रमा पनि लगानी गर्न आग्रह गरे ।
नेपाल र भारतका ३२ टीम सहभागी पडरिया लुम्बिनी प्रिमियर लिगको छैठौ संस्करणको रुपमा रहेको ईण्डो–नेपाल क्रिकेट प्रतियोगिताको उपाधि आयोजकले जितेको थियो ।
सम्मान कार्यक्रममा जसपाका जिल्ला अध्यक्ष सिया राम यादव सहित प्रदेश उपाध्यक्ष राम औतर यादव, जिल्ला उपध्यक्ष नवल किशोर सिंह, कलामुद्दिन खान, प्रदेश सदस्य गोविन्द यादव, बछुलाल केवट, बिद्यार्थी प्रदेश अध्यक्ष राहुल यादव, क्षेत्रिय अध्यक्ष जावेद आलम, नगर उपाध्यक्ष मनोज प्रजापती, बिद्यार्थी जिल्ला अध्यक्ष बिरेन्द्र यादव, जिल्ला सचिव कौसेलेन्दर मिश्रा, पार्टी जिल्ला सह–सचिव राज कुमार लोध, वार्ड अध्यक्ष इनामुल्लाह फकिर, खुर्शीद आलम, कमाल खान, लुम्बिनी नव युवा क्लबका अहमद खान लगायतको सहभागीता रहेको थियो ।