पाल्पा । जिल्ला सुरक्षा समिति पाल्पाको आयोजनामा पाल्पाको तानसेन नगरपालिका होलाङ्दीस्थित पाल्पा-गुल्मी सडक खण्डमा सडक दुर्घटना उद्धार सम्बन्धी कृत्रिम अभ्यास कार्य सम्पन्न भएको छ । नजिकिँदै गरेका चाडपर्वहरूलाई लक्षित गरी हुन सक्ने सम्भावित सडक दुर्घटना र दुर्घटनापश्चात् हुने क्षतिलाई न्यूनीकरण गर्ने तथा उद्धार कार्यलाई छिटोभन्दा छिटो र प्रभावकारी बनाउन सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा राख्ने उद्देश्यले यो अभ्यास आयोजना गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक दिपेन्द्र पंजियार थारुले दिनुभएको जानकारी अनुसार, यो कृत्रिम अभ्यासको मुख्य उद्देश्य दुर्घटनाको समयमा उद्धारकर्मीहरूको क्षमता अभिवृद्धि गर्ने र सुरक्षा संयन्त्रलाई चुस्त राख्ने रहेको छ । नागरिकको सेवा र सुरक्षाका लागि प्रहरी २४ सै घण्टा तयारी अवस्थामा रहेको उहाँले बताउनुभयो ।
पंजियार थारुले पाल्पामा प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेदेखि नै जिल्लामा जनचेतनामूलक कार्यक्रमहरूलाई प्राथमिकता दिँदै आउनुभएको छ । यस प्रकारका कार्यक्रमहरूले नागरिकहरूमा जनचेतना फैलाउन र दुर्घटनाको जोखिम कम गर्न सहयोग पुग्ने विश्वास गरिएको छ । उक्त कार्यक्रममा पाल्पाका प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डे, सशस्त्र प्रहरीका प्रमुख लगायत जिल्ला सुरक्षा समितिका सदस्यहरूको सहभागिता रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।