भैरहवा । सिद्धार्थ होटल संघ, नेपालले रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल यथाशीघ्र पूर्ण रूपमा सञ्चालनमा ल्याउन माग गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेल (गनेस) लाई ज्ञापनपत्र बुझाएको छ । उद्योगी-व्यवसायी र आम नागरिकको अपेक्षा अनुसार विमानस्थल सञ्चालनका लागि आवश्यक पूर्वाधार तथा सेवा प्रवाह सुनिश्चित गर्न जोड दिँदै संघले भैरहवामा मन्त्री पौडेललाई भेटेर ध्यानाकर्षण गराएको हो।
ज्ञापनपत्र बुझाउँदै संघका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले विमानस्थल सञ्चालनको विषयलाई सरकारले गम्भीरताका साथ लिनुपर्ने माग राख्नुभयो। उहाँले यस विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानहरू सुचारु गर्नका लागि निजी क्षेत्रको तर्फबाट आवश्यक पर्ने जुनसुकै सहयोग र कार्य गर्न आफूहरू तयार रहेको प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।
वि.सं. २०७९ साल जेठ २ गते सञ्चालनमा आएको, करिब ४० अर्ब रुपैयाँ लगानी भएको यस विमानस्थललाई हेरेर निजी क्षेत्रले होटल तथा पर्यटन उद्योगमा खर्बौँको थप लगानी गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो। विमानस्थलको निरन्तर सञ्चालनसँगै पर्यटन गतिविधि बढ्ने अपेक्षा गरिए पनि भइरहेका उडानहरू समेत बन्द हुँदा निजी क्षेत्र थप निराश बनेको उहाँको भनाइ थियो ।
संघले सोही ज्ञापनपत्रमार्फत लुम्बिनीको विकासका लागि गर्नुपर्ने कार्यहरू तथा आगामी 'नेपाल भ्रमण वर्ष २०८५' को पूर्वतयारी एवं पर्यटन प्रवर्द्धनका लागि तत्काल कार्यान्वयन गर्नुपर्ने विभिन्न मागहरू समेत मन्त्री पौडेलसमक्ष प्रस्तुत गरेको छ । व्यवसायीहरूको ज्ञापनपत्र बुझेपछि पर्यटन मन्त्री खडक राज पौडेलले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा सञ्चालन हुने कुरामा ढुक्क हुन आग्रह गर्नुभयो ।
विमानस्थल चल्नैपर्ने र यसको विकल्प नरहेको स्पष्ट पार्दै मन्त्री पौडेलले हालसम्म विमानस्थल सञ्चालनमा देखिएको सुस्तताको मूलभूत कारण नीतिगत त्रुटि भएको उल्लेख गर्नुभयो । उहाँले सरकार अहिले ती नीतिगत त्रुटिहरू सच्याउने कार्यमा लागिरहेको र चाँडै नै विमानस्थलले गति लिने दाबी गर्नुभयो।