भैरहवा । जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रीकेट प्रतियोगितामा सुदूरपश्चिमले लुम्बिनी प्रदेशलाइ ५ विकेटले पराजित गरेको छ । बुधबार रूपन्देहीको एक्स्ट्राटेक ओभल क्रीकेट रङ्गशालामा भएको खेलमा सुदूरले लुम्बिनीले दिएको ११७ रनको लक्ष्य ३१.१ ओभरमा भेट्टाएको हो ।
सुदूरको लागि किरण ठगुन्ना र नारायण जोशीको उत्कृष्ट साझेदारीले सुदूरको जीत सुनिश्चित गरेको हो । किरणले ४३ बल खेल्दै ४ चौका र २ छक्काको सहयोगमा अविजित ४३ रन बनाए । यसै गरि नारायण जोशीले अविजित २५ रन र प्रकाश पाण्डेले २२ रन बनाए ।
बलिङमा लुम्बिनीका रमेश कुर्मीले २ विकेट लिए भने निर्मल गुरुङ, अजय चौहान र विप्रसन केसीले समान १/१ विकेट लिए ।
यस अघि टस जितेर ब्याटिङ रोजेको लुम्बिनीले ४४.१ ओभरमा आफ्ना सबै विकेट गुमाउदै ११६ रनमा समेटिएको थियो । लुम्बिनीका लागि कप्तान देव खनालले ७१ बल खेलेर ४ चौकाको सहयोगमा ४१ रन र प्रज्वल थापाले ५७ बलमा ३ चौकाका सहयोगमा ३० रन बनाउदा अन्य कुनै पनि ब्याट्सम्यानले दोहोर अंक समेत जोडन् सकेनन् । लुम्बिनीका २ जना ब्याट्सम्यान शून्य रनमा आउट भएका थिए भने बिप्रसन केसीले १ रन, मृनाल गुरुङ्गले २ रन, कृष्ण कार्कीले ४ रन बनाए ।
बलिङमा सुदूर पश्चिमका हेमन्त धामीले ९ ओभरमा १ मेडेन सहित २६ रन खर्चिएर लुम्बिनीको ४ विकेट लिए । यस्तै शेर मल्ल, सौर्य श्रेष्ठ र मिलन बोहराले समान २/२ विकेट लिए ।
जारी प्रतियोगितामा ६ खेल खेलेको लुम्बिनी ४ मा जित र २ मा हार गरि ८ अंकका साथ तेश्रो स्थानमै कायम छ भने ६ खेल नै खेलेको सुदूर २ मा जीत र ४ मा हार गरि ४ अंकका साथ अंकतालिकाको सातौ स्थानमा उक्लेको छ ।