भैरहवा । भुकम्प पीडितहरुको सहयोगार्थका लागि रुपन्देहीको भैरहवामा ‘न्यानो माया’ अभियान संचालन गरिएको छ । चिसोयाम सुरु भएसँगै पीडितहरुलाई न्यानो कपडा आवश्यक पर्न सक्ने भएकोले लत्ताकपडा संकलनका लागि भैरहवामा ‘न्यानो माया’ अभियान संचालन गरिएको हो ।
सिद्धार्थनगर नगरपालिका (भैरहवा) को उपप्रमुख उमा अधिकारीको नेतृत्वमा सहरमा लत्ताकपडा संकलन भइरहेको छ । सर्वसाधरणहरुले नयाँ र प्रयोग भएका (प्रयोग गर्न सकिने) दुवै प्रकारका लत्ता कपडा सफा गरी उपलब्ध गराउन सर्वसाधरणलाई आग्रह गरिएको उपप्रमुख अधिकारीले बताइन् ।
उनले योजना बनाएर समाजिक संजाल फेसबुक मार्फत अपिल गरेपछि सर्वसाधरणले आफुखुशी नयाँ र प्रयोग गर्न सकिने सफा तथा राम्रा कपडाहरु उपलब्ध गराउन सुरु भएको हो ।
‘म पहिला पनि खेलकुदको माध्यमबाट जाजरोकट पुगेको छु , निकै विकट क्षेत्रहरु छन् र त्यहाँ बालबालिका लगायत अन्यलाई कपडा आवश्यकता महसुस गरेको थिए’ उनले भनिन्, ‘भुकम्पका कारण पीडितहरु थप बिच्चली परेकोले समस्यालाई मध्यनजर गर्दै अभियान संचालन गरेका हौँ ।’
अभियान संचालन भएसँगै भैरहवाका सर्वसाधरणले नयाँ र पुनः प्रयोग गर्न मिल्ने लत्ता कपडाहरु संकलन केन्द्रमा पुर्याउन थालेका छन् । पीडितहरुले उक्त लत्ताकपडा लगाउँदा असहजता महसुस (च्यातिएको लगायत) नहोस भन्ने उद्देश्यले सफा गरी प्याक गरेर उपलब्ध गराउन आग्रह गरिएको छ ।
उनले आइतबार बिहान देखि सुरु भएको अभियान अन्र्तगत आइतबार साँझ सम्म संकलन भएको ३५ बोरा कपडा नगरपालिका कार्यालयको राहतसँगै भुकम्प प्रभावित जिल्लामा पठाइएको बताइन् ।
‘भुकम्पका कारण त्यहाँका सर्वसाधरणहरु साह्ै समस्यामा छन्’ उनले भनिन्, ‘हाम्रो सानो प्रयासले त्यहाँका पालिकाका प्रभावित परिवारहरुलाई राहत पुग्न सक्छ ।’
सबै उमेर समुहलाई हुने खालका कपडाहरु प्राप्त भइरहेका कपडा संकलन केन्द्रमा संयोजकको रुपमा खटिएका स्थानीय विवेक भण्डारीले बताए ।
‘आह्वानपछि अहिले भैरहवा, बुटवल, लुम्बिनी लगायत विभिन्न स्थाबाट कपडाहरु प्राप्त भइरहेको छ’ उनले भने, ‘त्यसपछि हामीले व्यवस्थित रुपमा नगरपालिका मार्फत जिल्ला व्यवस्थापन समितीको समन्वय प्रभावित क्षेत्रमा पठाइरहेका छौँ ।’
उनले थपे– ‘केहीले कपडा संकलन केन्द्रको रुपमा तोकिएको भैरहवाको आँखा अस्पतालमा चोक आफै ल्याएर दिइरहेका छन् भने केही फोन सम्पर्क गरी लिन बोलाएको अवस्थामा हामी आफै गएर ल्याउने काम गरिरहेका छौँ ।’ उनका अनुसार कसैले खरिद नयाँ र कसैले पुनः प्रयोग गर्न मिल्ने कपडा सफा गरेर उपलब्ध गराइरहेका छन् ।
नयाँ र प्रयोग गर्न मिल्ने कपडासँगै सर्वसाधरणले प्रयोग गर्न नमिल्ने÷च्यातिएको फोहोर कपडाहरु पनि उपलब्ध गराइरहेकोले त्यस्ता कपडाहरु प्रभावित जिल्लामा नपठाइने र उपलब्ध समेत नगराउन उपप्रमुख अधिकारीले आग्रह गरेकी छिन् ।
एक महिनाको सुविधा पनि प्रदान
भुकम्प पीडितहरुको सहयोगार्थका लागि उपप्रमुख अधिकारीले आफुले पाउने एक महिनाको सुविधा प्रदान गर्ने बताएकी छिन् । उनको मासिक ३३ हजार रुपैयाँ पाउने गरेकी छिन् ।
सिद्धार्थनगर नगरपालिकाको कार्यालय, जनप्रतिनिधी र कर्मचारीबाट सुविधा–पारिश्रमिक गरी कुल २२ लाख ५४ हजार ५ सय रुपैयाँ पठाइने कार्यालयले जनाएको छ । त्यस्तै जाजरकोट जिल्ला नगरपालिकाको कार्यालयसँगै विभिन्न संघसंस्थाको सहयोगमा चामल, चाउचाउ, कम्बल, सिरक, फुरनदाना, लत्ताकपडा लगायत एक ट्रक साम्रगी जिल्ला व्यवस्थापन समिती रुपन्देहीलाई हस्तान्तरण गरी पठाइएको सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले बताए ।