सन्धिखर्कको पोखेडाँडामा २० दिने होमस्टे व्यवस्थापन तालिम सम्पन्न

Ujyalosandeshonline 11076+ समाचार ( )
११ पौष २०८२, शुक्रबार

अर्घाखाँची ।अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–६ स्थित पोखेडाँडा सामुदायिक होमस्टेमा सञ्चालित २० दिने होमस्टे व्यवस्थापन तालिम सम्पन्न भएको छ । घरेलु तथा साना उद्योग कार्यालयको ८० प्रतिशत र व्यवसायीको २० प्रतिशत साझेदारीमा आयोजना गरिएको उक्त तालिम समापन कार्यक्रममा बोल्दै सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले होमस्टेले पर्यटन प्रवर्द्धन गर्दै स्थानीयलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

नगर प्रमुख श्रेष्ठले पोखेडाँडा होमस्टेको प्रचुर सम्भावना रहेको बताउँदै यहाँ आउने पर्यटकलाई स्थानीय अर्गानिक उत्पादन, मौलिक संस्कृति र स्थानीय शैलीको आवासको अनुभूति दिलाउनुपर्नेमा जोड दिनुभयो । उहाँले यस क्षेत्रमा सुपा देउराली, नर्तान्जल पर्वत र ओम कृष्ण गौशाला जस्ता धार्मिक तथा पर्यटकीय स्थलहरू रहेकोले होमस्टेको भविष्य उज्ज्वल रहेको उल्लेख गर्नुभयो ।

घरेलु तथा साना उद्योग अधिकृत दुर्गा न्यौपानेको अध्यक्षता र हुम बहादुर बिकको सञ्चालनमा सम्पन्न कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी झविलाल भट्टराई, वडा अध्यक्ष श्रीधर महत्रा लगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा जनप्रतिनिधि, समाजसेवी तथा व्यवसायीहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार