भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–५, भैरहवामा रहेको मार्गदर्शन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको करोडौं रकम हिनामिना गरी फरार रहेका अध्यक्ष अशोक केसीलाई प्रहरीले पक्राउ गरेको छ । शेयरधनी तथा बचतकर्ताको ५ करोड ९० लाख ८४ हजार रुपैयाँभन्दा बढी रकम अपचलन गरेको आरोपमा केसीलाई भक्तपुरबाट पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार, सहकारीका बचतकर्ताको रकम हिनामिना भएपछि प्रहरीमा सहकारी ठगी तथा ठगी सम्बन्धी कसुरमा मुद्दा दर्ता भएको थियो । सोही मुद्दाको अनुसन्धानका क्रममा फरार रहेका दोलखा, मेलुङ गाउँपालिका–६ का ३४ वर्षीय अध्यक्ष केसीविरुद्ध जिल्ला अदालत रुपन्देहीबाट पक्राउ पूर्जी जारी भएको थियो । प्रहरीले उनलाई बुधबार भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–३, गठ्ठाघरबाट पक्राउ गरी भैरहवा ल्याएको हो । पक्राउ परेका अध्यक्ष केसीलाई अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी गणेश सापकोटाले जानकारी दिए ।
यो प्रकरणमा प्रहरीले धनमन थारु समेतको जाहेरीका आधारमा २३ जनाविरुद्ध मुद्दा दायर गरेको छ । गत वैशाख ३० गते जिल्ला सरकारी वकिलको कार्यालयमार्फत रुपन्देही प्रहरीले अदालतमा मुद्दा दायर गरेको थियो । प्रतिवादीहरुमा रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका ४ जना, तिलोत्तमा नगरपालिका का ९ जना, सियारी गाउँपालिकाका एक जना, रामेछापका दुई जना तथा दोलखा, धनकुटा, तनहुँ, भक्तपुर, गुल्मी, काभ्रेपलान्चोक र चितवनका एक–एक जना रहेका छन् ।
रुपन्देही जिल्ला अदालतले यस मुद्दालाई विशेष चासोका साथ हेरिरहेको छ । अदालतको वेबसाइटमा उल्लेख भएअनुसार, मुद्दाको गत असार १९, साउन ११ र साउन १५ गते गरी तीन पटक पूरक पेशी तोकिएको थियो । जसमध्ये असार १९ र साउन ११ गतेको पूरक पेशीमा प्रतिवादीहरुसँग धरौटी माग गर्ने आदेश भएको थियो ।