भैरहवा । रुपन्देहीमा रहेका अधिकांश ट्राभल व्यवसाय अवैध रुपमा सञ्चालनमा रहेको पाईएको छ । जिल्ला अनुगमन समितीले बुटवलमा गरेको अनुगमनको क्रममा अधिकांशमा कैफियत भेटिएको छ ।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालको नेतृत्वमा रहेको अनुगमन समितिले बुटवल उपमहानगर पालिका वडा नम्बर ९ ईट्टाभट्टि टोलमा रहेको १४ वटा ट्राभल एजेन्सीहरुमा अनुगमन गरेको छ । सो क्रममा ११ वटा लाई जनही २० हजार रुपैयाको दरले कार्यवाही गरिएको अर्यालले बताए ।
“अधिकांश कागजातमा कमजोर देखिएका छन्, पहिलो पटक भएकोले जरिवाना गर्दै चेतावनी दिएका छौं ।”उनले भने “सुधार नगरे अब यस्ता व्यसाय बन्द गर्न तर्फ नै लाग्नेछौ ।”
अधिकांश ट्राभल व्यवसायीले अन्त प्रधान कार्यालय राखे पनि शाखा खोल्ने अनुमति नै नलिई बुटवलमा अवैध रुपमा व्यवासय सञ्चालन गरेको पाईएको छ । यस्तै कतिपय पर्यटन डिभिजन कार्यालयमै दर्ता छैनन भने कतिपयको दर्ता नविकरण रहेको छैन ।
पर्यटन डिभिजन कार्यालयको अनुरोधमा गरिएको अनुगमनमा न्यू सूपा देउराली माँ टुर्स एण्ड ट्राभल्स प्राली, श्री शुभसाईत टुर्स एण्ड ट्राभल्स प्राली, जन सगरमाथा टुर्स एण्ड ट्राभल्स प्राली, न्यू सागर एण्ड सगरमाथा टुर्स एण्ड ट्राभल्स प्राली लाई जनही २० हजार जरिवाना गरिएको छ । सोही स्थानमा रहेका सुपा देउराली टुर्स एण्ड ट्राभल्स प्राली, लुम्बिनी हिमालय टुर्स एण्ड ट्राभल्स प्राली, श्री दुर्गेश्वरी टुर्स एण्ड ट्राभल्स प्राली, खलंगा एण्ड सुपा देउराली टुर्स एण्ड ट्राभल्स प्राली, सुपा देउराली टुर्स एण्ड ट्राभल्स प्राली, रुद्रावती टुर्स एण्ड ट्राभल्स प्रालीलाई पनि जनही २० हजार जरिवाना सहित ३ दिने अल्टिमेटम दिईएको सहायक प्रमुख जिल्ला अधिकारी अर्यालले बताए ।
अनुगमन गरिएका मध्ये अचार्य टुर्स एण्ड ट्राभल्स प्राली र दर्शन टुर्स एण्ड ट्राभल्स प्रालीको पनि कैफियत देखिए पनि तत्काल जरिवाना नगरि उनिहरुलाई नविकरणको लागि समय तोकेको छ ।
“जुनसुकै व्यवसायहरुलाई सहि हिसाबले सञ्चालन गर्ने, निति, विधि र थितिमा सञ्चालन गर्नुपर्ने मात्र नभई यस्ता व्यवसायहरुको संवद्र्धन र प्रर्वद्धन गर्ने उत्तरदायित्व पनि जिल्ला प्रशासन कार्यालयको हो ।” अर्यालले भने “तर पछिल्लो समय पर्यटकलाई सेवा दिने गरि स्थापना भएका टुर्स एण्ड ट्राभल्स व्यवसायहरुबारे गुनासो आईरहेको थियो ।”
पर्यटन डिभिजन कार्यालयको प्रमुख दुर्गा आचार्यले बुटवलमै यति धेरै टुर्स एण्ड ट्राभल्स व्यवसायहरु यसरी सञ्चालन होला भन्ने नसोचेको बताइन ।“सीमा क्षेत्रका व्यवसायहरुबारे गुनासो आईरहेको थियो, बुटवलमै यस्तो होला भन्ने लागेको थिए ।” उनले भनिन् “ बुटवलमै ९० प्रतिशत व्यसाय अवैध रुपमा सञ्चालनमा रहेको पायौ ।”
टुर्स एण्ड ट्राभल्स व्यवसाय पर्यटन डिभिजन कार्यालयमा पनि दर्ता हुनु पर्नेमा त्यो अधिकांशले नगराएको उनको भनाई छ । जिल्लामा करिब २ सय १५ वटा टुर्स एण्ड ट्राभल्स व्यवसाय दर्ता रहेको र त्यसमा पनि एक सयको हाराहारीमा नविकरण भएको आचार्यले जानकारी दिईन ।