भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले लामो समय सम्म पनि लुम्बिनी विकास गुरुयोजना पुरा नहुदा कयौ सम्भावनाका ढोकाहरु बन्द भएको बताएकाछन् । उनले समयमै गुरुयोजना पुरा नहुदा यस क्षेत्रका हजारौ स्थानियहरु बिस्थापित हुनु परेको बताए ।
राष्ट्रिय गौरवका आयोजनाहरु पुरा गराउने उद्देश्य सहित आयोजित राष्ट्रिय स्वतन्त्र पार्टीको राष्ट्रियब्यापी दबाब अभियानको क्रममा लुम्बिनी आईपुगेका लामिछानेले गुरुयोजना पुरा भएको भए स्थानियहरुलाई यहि रोजगारीको प्रयाप्त अवसरहरु हुने जिकिर गरे । “गुरुयोजना सम्पन्न भएको मात्र छैन, २५ प्रतिशत बाँकी छ भन्ने सुन्दा सुन्दै आम मानिसको काम पाकिसकेको छ, धेरैको उठिबास लागिसकेको छ ।” उनले भने “अब थप उठिबास नहोस र गुरुयोजना चाडै सम्पन्न होस ।”
उनले ४६ वर्षदेखि अलपत्र लुम्बिनी गुरुयोजना कुनै पनि वाहनामा ढिलाई गर्ने छुट नरहेको बताए । उनले गौतमबुद्धको पवित्र जन्मभूमिको नाममा कसैले बदमासी गर्न नहुने बताउँदै आफुहरुले गुरुयोजना कार्यान्वयनका लागि निरन्तर दवाव दिने र समाधानपत्र सरकारलाई बुझाउने बताए । लामिछानेले लुम्बिनीका बिभिन्न गुम्बाहरुले गुरुयोजना विपरीत आफ्ना देशका नागरिकलाई गरेको बस्ने खाने ब्यवस्थाको कारण यस क्षेत्रको होटल ब्यवसायीहरु धराशायी भएको बताए । “गुम्बाहरुका कारण बाहिर खोलेका होटल ब्यवसायहरु ताला लगाएर हिड्ने अवश्थामा छन् । उनले भने “हामीले यहाका स्थानिय ब्यपारीमाथि पाप गरिरहेका छौं ।”
यस्तै भैरहवामा निर्माण सम्पन्न भएको गौतमबुद्ध अन्र्तराष्ट्रिय बिमानस्थलका कारण पनि अरबौको लगानी जोखिममा रहेको बताए । लामिछानेले सरकारका प्रतिनिधिहरुले नै लगानीको आश देखाएर उनिहरुलाई बिजोक अवश्थामा पारेको आरोप लगाए ।
राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रव्यापी दवाव अभियान अन्तर्गत लुम्बिनी गुरुयोजना कार्यान्वयनका लागि दवाव स्वरुप पैदल यात्रा गरेको थियो । पार्टी सभापती रवि लामिछाने सहित करिव १० किमिको पैदल यात्रा गर्दै लुम्बिनी गुरुयोजना कार्यान्वयन गर्न दवाव दिएको हो ।
लुम्बिनी गुरुयोजना क्षेत्र उत्तरतर्फको १२ नम्बर गेटबाट निर्माणधिन संरचनाको अवलोकन गर्दै लामिछानेले शान्तिदीप, मायादेवी मन्दिरको दशर्न गर्दै दक्षिणतर्फको ६ नम्बर गेट हुँदै महिलवार चौकसम्म पैदलयात्रा गरेका थिए ।
७ वटै प्रदेशमा रुग्न र अलपत्र पारिएका विकास योजनाको कामप्रति सरकारको ध्यानाकर्षण गराउने उद्देश्ले दबाब अभियानको आयोजना गरिएको र यसलाई चरणवद्ध रुपमा अगाडी बढाउने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेले बताए ।