पाल्पा । जिल्ला प्रहरी कार्यालय पाल्पाले प्रहरी सहायक निरीक्षक (असई) खेम बहादुर केसीलाई मंसिर महिनाको ‘उत्कृष्ट प्रहरी’ (BEST POLICE OF THE MONTH) घोषणा गरेको छ। जिल्ला प्रहरी कार्यालय पाल्पा मातहतको प्रहरी चौकी राम्दीमा कार्यरत केसीलाई उनले प्रदर्शन गरेको उच्च व्यावसायिकता, इमानदारी र कर्तव्यनिष्ठाको कदर गर्दै उक्त उपाधि प्रदान गरिएको हो।
आइतबार आयोजित एक कार्यक्रमका बीच पाल्पाका प्रहरी नायव उपरीक्षक (डीएसपी) होम प्रकाश चौधरीले असई केसीलाई पुरस्कार तथा प्रशंसा-पत्र प्रदान गर्नुभयो। आफ्नो जिम्मेवारीलाई कुशलतापूर्वक सम्पादन गर्ने, अपराध नियन्त्रण तथा शान्ति सुरक्षा कायम गर्न विशेष योगदान पुर्याउने प्रहरी कर्मचारीलाई प्रोत्साहन गर्न जिल्ला प्रहरी कार्यालयले प्रत्येक महिना ‘बेस्ट पुलिस अफ द मन्थ’ घोषणा गर्ने परम्परा अनुसार केसीलाई पुरस्कृत गरिएको प्रहरीले जनाएको छ। यस सम्मानले पुरस्कृत प्रहरी कर्मचारीको मनोबल उच्च हुनुका साथै अन्य प्रहरी कर्मचारीहरूमा समेत सकारात्मक ऊर्जा र प्रतिस्पर्धात्मक भावनाको विकास हुने विश्वास लिइएको डीएसपी चौधरीले बताउनुभयो ।