भैरहवा । प्रतिनिधि सभा अन्र्तगतको अर्थ समितिले नेपालका भन्सारलाई प्रविधि र पूर्वाधार बनाउनु मूख्य चुनौती रहेको बताएको छ । लुम्बिनी प्रेस क्लबले आईतबार भैरहवामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै समितिका सदस्य तथा प्रतिनिधि सभा सदस्य सूर्य बहादुर थापा क्षेत्रीले अहिले भन्सारलाई प्रविधि र पूर्वाधार युक्त बनाउन आवश्यक रहेको बताएका हुन् ।
भन्सार विधेयक संशोधनको लागि संसदमा पेश भएको छ । सोहीको लागि अहिले अर्थ समिति सरोकारवालाको सुझाव लिन देशैभरिको सीमा नाकाहरुमा पुगेको छ । भैरहवामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै समितिका सदस्य थापाले भन्सार पूर्वाधार र प्रविधियुक्त हुन नसक्दा पारदर्शी हुन नसकेको जिकिर गरे । उनले भन्सारलाई पेपरलेस र फेसलेस बनाउने गरि कानून बनाउननु पर्ने सुझावहरु प्राप्त भएको बताए । यस बाहेक चोरी निकासी पनि भन्सारको मूख्य समस्याको रुपमा देखिएको उनले बताए । “भन्सारलाई तस्करीको अर्थतन्त्रलाई नियन्त्रण गर्ने गरि हामीले मेहनत गर्नुपर्ने धेरै छ ।” थापाले भने “तस्करी नियन्त्रण गर्न नेता, कर्मचारी र प्रहरी मात्र नभई नागरिक स्तरबाट नै सचेत हुनुपर्ने आवश्यकता मैले देखेको छु ।”
थापाले औद्योगिक कच्चा पदार्थहरु बाहेक अन्य दैनिक उपभोग्यका सामाग्रीहरु भन्सार विन्दु छलेर आउने गरेको बताए । उनले अहिले भन्सार कार्यालयहरुमा भएको उपकरणहरु पनि पूर्ण रुपमा प्रयोगमा आउन नसकेको बताए । “भ्रमणको क्रममा धेरै क्षेत्रहरुबाट सुझावहरु आएका छन्, यी सुझावहरुलाई हेरिकन भन्सारलाई आधुनिकीकरण गर्ने, पारदर्शी बनाउने, व्यवस्थित बनाउने, तस्करीका सबै च्यानलहरु बन्द गर्ने र भन्सार विन्दुबाट नै विल विजक सहितको कारोबारलाई सुनिश्चित गर्ने कोशीश हामीले गर्ने हो ।” उनले भने “अहिलेको भन्सार विधेयकलाई हामीले समाधानको उज्यालो सहित टुङ्ग्याउने कोशीशमा हामी छौं ।”
अर्थ समितिका अर्का सदस्य गंगा कार्कीले विधेयकलाई जनता र राज्यको हितसंगै अर्थतन्त्रको अधिकतम हित हुने गरि बनाउने पक्षमा रहेको बताए । देशको अर्थतन्त्रको मेरुदण्ड एवम राज्यको ढ्क्टी भर्ने सबै भन्दा ठूलो निकाय भन्सारलाई सुदृढ बनाउनुपर्ने भएकोले यसलाई सुस्पष्ट बनाउने कुरामा समिति गम्भिर रहेको उनको भनाई थियो । कार्कीले पनि नियम कानून र व्यवहारिक समस्या रहे पनि भन्सारको मूख्य समस्या प्रविधि नै रहेको उल्लेख गरे । “नियम, कानून तथा कार्यविधिहरु सुस्पष्ट हुने र यसको कार्यान्वयन प्रविधिमैत्री ढंङ्गले ग¥यो भने यो समस्या हल हुन्छ ।” कार्कीले भने
अर्थ समितिका सभापति सन्तोष चालिसेले बन्दै गरेको विधेयकमा सबैका सुझाव सुने पनि कुनै प्रकारको पक्षपात नगरि कानून निर्माण गर्ने बताए । उनले कानून जस्तो कुरा पटक पटक नबन्ने हुदा भन्सार विधेयकलाई धेरै सोचविचार गरि मात्र अगाडी बढाईने उल्लेख गरे । जनता र मुलुकको हकहितको पक्षमा तथा सुस्ताएको व्यपारको पक्षमा यो विधेयकले ठूलो भूमिका खेल्ने उनको दावी छ ।
नेपाल गञ्जको रुपैडिहा नाकाबाट सुझाव संकलन सुरु गरेको अर्थ समितिको टोलीले सुठौली, कृष्णनगर, बेलहिया, महेशपुर लगायत भन्सार कार्यालयहरुको अवलोकन गरि सुधार गर्नुपर्ने कुरा संकलन गरेको छ । अर्थसमितको टोली आइतबार नै बिराटनगर तर्फ प्रस्थान गरेको छ ।