भैरहवा । सिद्धार्थनगर नगरपालिकाको वडा नं. ५ कार्यालयको आयोजना सेनेटरी प्याड सम्बन्धि तालिम सुरु भएको छ । किशोरी÷महिलाहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै सेनेटरी प्याड सम्बन्धि तालिमको आयोजना गरिएको हो ।
वडा नम्बर ५ को कार्यालयमा आइतबार एक कार्यक्रमका बीच सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले तालिमको उद्घाटन गरे । तालिममा वडाका २५ जना किशोरी तथा महिलाहरुको सहभागिता रहेको छ । तालिममा सहभागीहरुलाई जेठ १३ देखि जेठ १९ गतेसम्म सेनेटरी प्याड बनाउन सिकाइनेछ ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथी नगर प्रमुख खाँले तालिममा सहभागीहरुलाई गम्भिरताका साथ तालिम लिई अन्यलाई पनि सिकाउने गरी तालिम लिन आग्रह गरे । उनले तालिम मार्फत सिकेको सीपलाई अन्यलाई पनि सिकाए थप उपयोगी हुने बताए ।
‘तालिममा सिकेको सीप अरुलाई पनि सिकाउनुहोला । तपाईहरुले सिकेको कुरा अरुलाई पनि सिकाए यो तालिम निकै उपयोगी हुने विश्वास लिएको छु’, उनले भने । स्वास्थ्य क्षेत्रमा सिद्धार्थनगरले निकै फलदायी कार्यक्रमहरु गर्दै आइरहेको विषय उल्लेख गर्दै उनले स्वास्थ्य प्रति सेचत र सजग रहन नगरवासीमा आग्रह गरे ।
सिद्धार्थनगर नगरपालिकाको उपप्रमुख उमा अधिकारीले बजारमा उपलब्ध केमिकलयुक्त प्याड भन्दा तालिममा प्राप्त सीप अनुसार बनाइएको प्याड निकै उपयोगी हुने बताइन् ।
‘आज पनि हामीले खरिद गरेको प्याड लुकाएर लैजाने गरेका छौँ । प्याड कुनै लुकाउनु पर्ने वस्तु होइन,’ उनले भनिन्, ‘किशोरी÷महिलाहरु खुलेर अगाडी आउनुपर्छ ।स्वास्थ्य सम्बन्धी कुनै समस्या छ लुकाएर हुदैन । खुलेर छलफल गर्नका लागि गाउँटोलमा हाम्रो स्वयंसेविकाहरु हुनुहुन्छ, स्वास्थ्य चौकीहरु छन् । सम्पर्क गर्नुपर्छ ।’
वडा नं.३ का वडाअध्यक्ष नारायण प्रसाद उपाध्यायले सफलताको लागि निरन्तरता दिन आग्रह गर्दै आयोजना गरिएको कार्यक्रमले धेरै किशोरी÷महिलाहरु लाभान्वित हुने विश्वास व्यक्त गरे ।
कार्यक्रमको अध्यक्ष एवं वडा नम्बर ५ का वडाअध्यक्ष पुरन प्रसाद श्रेष्ठले किशोरी÷महिलाहरुको स्वास्थ्यप्रति वडा कार्यालय संवेदनशील रहेको उल्लेख गर्दै वडाले आधारभु्त स्वास्थ्य केन्द्र, खोप केन्द्र लगायत स्थापना गरी संचालनमा ल्याएको बताए । उनले सीपको प्राप्तीका लागि सूचना अनुसार स्वतस्र्फूत रुपमा वडावासी आउनुपर्नेमा बोलाएर सेवा दिनुपरेको र यसको अन्त्यका लागि आफ्नै वडा कार्यालयमा वडावासीहरु समय समय आएर सुझाव÷सल्लाह दिन आग्रह गरे ।
वडा नम्बर ५ का वडाअध्यक्ष पुरनप्रसाद श्रेष्ठको अध्यक्षता, वडा सदस्य सरस्वती श्रेष्ठको संचालन र किरनदेवी सुनारको स्वागतमा सम्पन्न कार्यक्रममा वडा नम्बर १३ का वडाअध्यक्ष सोमबहादुर गुरुङ, वडासदस्य विनित कुमार वेरिवाल, प्रेम नारायण तेली, स्थानीयवासीहरु लगायतको उपस्थिती रहेको थियो ।